बगरमा बन्यो बसपार्क, दुर्घटनाको जोखिम


 


बागलुङ, पुस १६ । मध्यपहाडी लोकमार्ग छेवैको बडिगाडखोला र त्यसमाथि छ, बुर्तिबाङ बजार । बुर्तिबाङ बजार सडकले जोडिएको डेढ दशकभन्दा बढीभयो ।

सडक सञ्जाल जोडिएपछि बुर्तिबाङ बजारको मुख्य भागमा बसपार्क बनाइयो । सुरुसुरुमा थोरै गाडी चल्ने हुँदा सवारी पार्किङमा समस्या थिएन । बुर्तिबाङमा सानो बजार हुँदै सहरमा परिणत हुन थालेपछि सवारी साधानको चाप पनि क्रमैशः बढ्यो ।

सवारी साधानको चाप बढेपछि बजारको बीचमा रहेको सानो बसपार्कमा सवारीसाधान पार्किङका लागि पर्याप्त भएन । फलस्वरुप जथाभावी रुपमा सवारी पार्किङ गर्न थालियो र ट्राफिक व्यवस्थापनमा चुनौती बढेसँगै दुर्घटनाको जोखिम बढायो ।

त्यसपछि पुरानो बसपार्कको विकल्पमा नयाँ सहर आयोजनाले ढोरपाटन नगरपालिका–२ खप्तरीबाङस्थित बडिगाड खोलाको किनारमा बसपार्कका लागि जग्गा खरिद गरी निर्माण अघि बढायो । हाल बसपार्क निर्माण अन्तिम चरणमा छ ।

बजार र लोकमार्गलाई पायकपर्ने ठाउँमा बसपार्क निर्माण गरिएपनि खोला किनारमा हुँदा बर्खाको समयमा बाढीले बसपार्कसहित यातायताका साधान बगाउने हो कि भन्ने चिन्ता पनि थपिएको छ । बजारनै साँघुरो ठाउँमा नहुँदा जग्गा व्यवस्थापनमा समस्या थियो नै, त्यसमाथि बगरमा बसपार्क बनाउनुले ठूलो समस्या निम्त्याउने जोखिम बढेको भन्दै स्थानीयवासीले गुनासो गरिरहेका छन् । बर्खाका बेला बडिगाडखोलामा पानीको बहाव बढेर बसपार्कमा आउने गर्छ । खोलामा तटबन्ध गरे पनि ठाउँ निकै साँघुरो भएको हुँदा जुनसुकै बेला बगाउन सक्ने जोखिम देखिएको स्थानीयको गुनासो छ ।

दश नमूना सहरमा पर्ने बुर्तिबाङ बजारमा हाल नयाँ सहर आयोजनाअनुरुप काम भइरहेको छ । विसं २०६८ देखि सुरु भएको नयाँ सहर आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाइ गर्दा बसपार्क निर्माण गत वर्षदेखि सुरु भएको हो ।

विसं २०८० असार १५ गतेसम्म बसपार्क निर्माण सम्पन्न गर्ने गरी अघिल्लो वर्ष कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका सूचना अधिकारी कमल शाहले जानकारी दिनुभयो । अहिलेसम्म बसपार्क निर्माण ९५ प्रतिशत सकिएको उहाँको भनाइ छ ।

विसं २०७५ मा छ रोपनी जग्गा खरिद बसपार्क बनाउन थालिएको हो । बसपार्क निर्माणको जिम्मा गोरखनाथ कन्ट्रक्सन एण्ड मरचेन्टाईजर प्रालिले पाएको छ ।

“बसपार्कमा लागि धेरै ठाउँमा जाग्गा हे¥यौँ तर पाइएन, हाम्रो भब्रेटामा पनि जग्गा छ, तर त्यहाँ बनाउने सम्भावना देखिएन”, उहाँले भन्नुभयो, “नगर विकास समितिसँग सहकार्य गरेर यहाँ जग्गा खरिद गरेका हौँ । बसपार्क बनाउनुपर्ने थियो, जग्गा थिएन, खोलामा तटबन्धन गरेकाले अहिले जोखिम छैन ।” खोला किनारदेखि पक्की पर्खाल उठाइएको छ । यसवर्ष बजेट कम परेको र अर्को वर्ष बसपार्क निर्माण सम्पन्न हुने उहाँको भनाइ छ ।

बसपार्क निर्माण लागि आर्थिक वर्ष २०७९/८० मा रु दुई करोड २६ लाख ४० हजार चार सय ३१ मा विनियोजित भएको थियो । अब सवारी पार्किङका लागि ढलान, गेट निर्माण, टर्मिनल भवनको फिनिसिङलगायतका काम बाँकी रहेको शाहको भनाइ छ । बसपार्कमा साना र ठूला गरी ३० वटा जीप, २० वटा बस र स–साना दर्जनौँ सवारीसाधान अट्ने क्षमता छ । टर्मिनल भवन तीन तलाको बनेको शाहले बताउनुभयो ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले खोलाको मापदण्ड मिचेर बसपार्क निर्माण भएको दाबी गर्नुहुन्छ । बसपार्क बन्नु बुर्तिबाङ बजारवासी र नागरिकका लागि खुसीको विषय भए पनि खोला किनारमा बनेको बसपार्क जुनसुकै बेला पनि बगाएर राज्यको करोडौँ रकम नोक्सानी हुने जोखिम रहेको उहाँको तर्क छ । बसपार्कको जग्गा खरिद गर्ने बेलादेखिनै कमजोरी हुँदै आएको उपप्रमुख कायतले बताउनुभयो ।

उपप्रमुख कायतले भन्नुभयो, “बजारमा रहेको पुरानो बसपार्क निकै साँघुरो छ । अहिले गाडी पार्किङमा समस्या छ । नयाँ ठाउँमा निर्माण गर्नुपर्ने आवश्यता १० वर्ष पहिलेनै थियो । अहिले जुन ठाउँमा बसपार्क बनेको छ । त्यो मापदण्ड अनुसार छैन ।” उहाँका अनुसार नयाँ बसपार्क निकै जोखिमपूर्ण ठाउँमा निर्माण भएको छ । जग्गा खरिद गर्ने बेलामै सम्बन्धित निकायले ध्यान पु¥याउन नसकेको र बसपार्क बाढी तथा पहिरोको जोखिममा रहेको उहाँको बुझाइ छ । रासस

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्