आणविक क्षेप्यास्त्र निगरानी गर्ने रकेट फोर्सका ३ कमाण्डर बर्खास्त भएपछि चिनियाँ सेनामा खैलाबैला


 


काठमाडौं । पछिल्ला केही दिनमा चीनले सेनाका उच्च पदहरूमा व्यापक फेरबदल गरेको छ र आफ्ना सैन्य अधिकारीहरूमाथि कारबाही पनि गरेको छ। यस कारबाहीको एक हिस्साका रूपमा जिनपिङले ९ शीर्ष जनरलहरूलाई पनि बर्खास्त गरिसकेका छन्।

ती मध्ये ३ जना रकेट फोर्स कमाण्डरहरू छन्। रकेट फोर्सले चीनमा आणविक मिसाइलहरूको निगरानी गर्दछ। चीनले किन यो कदम चालेको हो भन्ने खुलेको छैन तर विश्लेषकहरूले यसलाई भ्रष्टाचारसँग जोडिरहेका छन्।

चिनियाँ जनरलहरूले गरेको भ्रष्टाचारले पिपुल्स लिबरेशन आर्मी (पीएलए) लाई कमजोर बनाएको विश्लेषकहरू विश्वास गर्छन्। विश्लेषकहरूको बुझाइअनुसार चिनियाँ सेनामा ठूलो मात्रामा भ्रष्टाचार पर्दाफास भएको छ जसले राष्ट्रपति सी जिनपिङको सैन्य आधुनिकीकरण अभियानलाई भूराजनीतिक तनावको बीचमा धक्का लाग्न सक्छ।

चीनका शीर्ष सांसदहरूले शुक्रबार राष्ट्रिय विधायिका निकायका वरिष्ठ सैन्य अधिकारीहरूसँग भेटघाट गरेका छन्। सरकारी मिडियाले रिपोर्ट गरेअनुसार देशको संसद राष्ट्रिय जन कांग्रेस (एनपीसी) बाट बर्खास्त गरिएका अधिकारीहरूमा पीएलएको रकेट फोर्सका तीन शीर्ष कमाण्डरहरू पनि थिए जसले देशको आणविक हतियारहरूको एक घटक मिसाइल खण्डको हेरचाह गर्थे।

सन् २०५० सम्ममा “विश्व-स्तरीय” सेना निर्माण गर्ने आफ्नो आधुनिकीकरणको प्रयासमा अर्बौं डलर खर्च गरेर उपकरण खरिद र विकास गर्ने सीका लागि यो कदम ठूलो धक्का हो। पछिल्ला केही वर्षहरूमा, बेइजिङको विशाल रक्षा बजेट यसको अर्थतन्त्रको तुलनामा धेरै तीव्र गतिमा बढेको छ।

सेनापति र सैन्य उपकरण आपूर्तिकर्ताका कारण सेना केही हदसम्म कमजोर भएको छ । विश्लेषकहरूले ठूलो मात्रामा सैन्य लगानीको उचित अनुगमन भएन भनेर प्रश्न उठाएका छन्। त्यो पनि यस्तो समयमा जब ताइवान र अमेरिका दक्षिण चीन सागर र अन्य प्रमुख क्षेत्रमा यसको अगाडि उभिरहेका छन्।

सीले अब कम्युनिष्ट पार्टीका पदाधिकारी र सरकारी अधिकारीहरूमाथि भ्रष्टाचारको विषयमा कारबाही गर्न थालेका छन् । सीको मुख्य फोकस सेना अर्थात् पीएलए हो। कारबाहीमा परेका जनमुक्ति सेनाका जनरलमध्ये नौ जना विभिन्न सैन्य डिभिजनमा तैनाथ थिए ।

तीन जना पीएलए अफिसरहरू रकेट फोर्सका पूर्व कमाण्डर वा उप-कमान्डर थिए; एक पूर्व वायुसेना प्रमुख थिए र एक दक्षिण चीन सागरको लागि जिम्मेवार नौसेना कमाण्डर थिए। उपकरण खरिदमा संलग्न चारजना अधिकारीहरू थिए। युनाइटेड स्टेट्स इन्स्टिच्युट फर पिसका प्रतिष्ठित चाइना फेलो एन्ड्रयु स्कोबेलले भने, “यो चीनको सैन्य शुद्धीकरण जारी रहेको स्पष्ट संकेत हो।”

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्