ललितपुरका प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइयो


 


काठमाडौँ, पुस १४ । ललितपुरको बालकुमारीमा शुक्रबार दुई जना युवकको ज्यान जाने गरी भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ ।

गृह मन्त्रालयले ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानेको छ । त्यसैगरि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालयमा तानिएको छ ।

शनिबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरूबिच भएको छलफलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट निर्णय भएको थियो ।

छलफलमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए ।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए । त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाउँदा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १४ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्