आठ वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव भेटियो, एक जना पक्राउ


 


काठमाडौं, पुस १४ । रूपन्देहीको मर्चवारी गाउँपालिकामा आठ वर्षीया बालिकाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

मर्चवारी गाउँपालिका वडा नं। १ पचुवालीमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार बालिकाको शव सोही वडा स्थित खोल्साको पानीमा घोप्टो परेको अवस्थामा फेला परेको हो ।

शुक्रबार साँझ ५ बजेतिर घरबाहिर खेलिरहेकी बालिका साँझ अबेरसम्म घर नफर्किएपछि परिवारले राति १० बजेतिर प्रहरीलाई खबर गरेको थियो । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मर्चवारको टोलीले खोजी सुरु गरेको थियो ।

बालिकाको हत्या गरेको आरोपमा मर्चवारी गाउँपालिका वडा नं। १ महाराजगञ्ज बस्ने ३२ वर्षीय अकबर अली पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर विकले जानकारी दिए ।

पक्राउ परेका अलीले बालिकालाई साइकलमा लिएर खोलामा लगेर हत्या गरेको बताएपछि उनैको सहयोगमा घटनास्थल र शव फेला पारिएको प्रहरी उपरिक्षक विकले बताए ।

उनका अनुसार बालिकाको शवलाई शनिबार बिहान पौने ४ बजेतिर घटनास्थलमा फेला पारिएको र पोष्टमर्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । पक्राउ परेका अलीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बालिकाको हत्या हुनुभन्दा पहिले बलात्कार भएरनभएकोबारे भन्न नसकिने प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

प्रकाशित मिति: १४ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्