राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने


 


काठमाडौँ, पुस १३ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना सुरु गर्ने भएका छन् ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार नियुक्त गरेको थियो । ती अधिकृतले सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो ।

आयोगले कोशी प्रदेशमा मोरङका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेल, मधेस प्रदेशमा धनुषाका जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशमा मकवानपुरका जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्की नियुक्त हुनुभएको छ । साथै गण्डकी प्रदेशमा कास्कीका जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशमा दाङका जिल्ला न्यायाधीश कृपासुर कार्की, कर्णाली प्रदेशमा सुर्खेतका जिल्ला न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा कैलालीका जिल्ला न्यायाधीश ओमप्रसाद अर्याल नियुक्त हुनुभएको छ ।

सो निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको तालिका छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानुनी व्यवस्था छ । रासस

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्