अरुको बैंक खाताबाट रकम चोर्ने तीनजना पक्राउ


 


रौतहट, पुस १३ । अरूको बैंक खाताबाट रकम चोरी गर्ने गिरोहका तीन जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौर नगरपालिका ४ का वर्ष २५ को जितेन्द्र गिरी , वडा ७ वर्ष ३७ को दीपेन्द्रकुमार साह र गुजरा नगरपालिकाका-६ घर भई हाल चन्द्रपुर नगरपालिका १० बस्ने वर्ष ४२ को राज कुमार साह रहेको एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।

उनीहरूले छुट्टाछुट्टै चार जना मानिसको बैंक खाता बाट २४ लाख भन्दा बढी रुपैयाँ चोरेको अनुसन्धानबाट खुलेको रौतहट प्रहरी प्रमुख एसपी श्रेष्ठले जानकारी दिए।

विभिन्न काल्पनिक व्यक्तिको नाममा सीमावर्ती भारत बिहारको घोडासहनमा गई किर्ते नक्कली नागरिकता तथा सवारी चालक अनुमति पत्र बनाई उक्त कागजातहरूबाट सिमकार्डहरु निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरुमा खाता खोली मोबाइल बैंकिङ्ग मार्फत पीडितहरूको खातामा अनधिकृत रूपमा पहुँच पुरयाई रकम चोरी गरेको घटनाको अनुसन्धानबाट पुष्टि भएको रौतहट प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

पक्राउ परेका तीनैजनालाई अनुसन्धान पश्चात् प्रतिवेदन सहितको मिसिल जिल्ला सरकारी वकिल कार्यालय रौतहटमा पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्