मिटरब्याजीले अदालतमै कुटपिट गरेको भन्दै रातभर धर्ना बसे पीडित


 


धनुषा, पुस १२ । मिटरब्याजीले कुटपिट गरेको भन्दै पीडितहरु रातभर जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि धर्ना बसेका छन् ।

जिल्लाको विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको भन्दै पीडितहरु रातभर धर्ना बसेका हुन् ।

निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए ।

बिहीबार बिहान ७ बजे प्रहरीले मिटरब्याजी निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरेको उनले बताए । निरौलालाई बुधबार अदालतबाटै नियन्त्रणमा लिएर हिरासतमा राखेको सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बु जानकारी दिए ।

उनले पीडितलाई कुटपिट गर्ने निरौलालाई नियन्त्रणमा लिएर जाहेरी दर्ता गर्न आफूहरु तयार रहेकै अवस्थामा पीडितहरु विनाऔचित्य रातभर धर्ना बसेको बताए ।

उनका अनुसार पक्राउ परेका निरौला विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ३२ वटा मिटरब्याज विरुद्ध उजुरी परेको छ ।

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्