प्रधानाध्यापकलाई गोली हानी हत्या गर्ने ‘सुटर’लाई प्रहरीले गोली हानेरै समात्यो


 


बारा । प्रधानाध्यापकलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा विगत लामो समयदेखि फरार रहेका ‘सुटर’ लाई बारा प्रहरीले गोली हानेरै नियन्त्रणमा लिएको छ।

बारामा भएका विभिन्न हत्याकाण्डहरूमा संलग्न भनिएका भारतीय सुटर सुजित सिंहलाई प्रहरीले मंगलबार राती गोली प्रहर गरि नियन्त्रणमा लिएको हो।

कलैया उपमहानगरपालिका–६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश स्वर्णकारको हत्यामा मुख्य सुटर रहेका सिंहलाई बारा प्रहरीले लामो समय देखि खोजी गर्दै आइरहेको थियो।

प्रहरीले चलाएको गोली सिंहको दुवै खुट्टामा लागेको र उनलाई उपचारको लागि अस्पताल लैजाने तयारी गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। सिंहको साथबाट बन्दुक र त्यसमा लाग्ने गोली समेत बरामद गरिएको उनले जनाए।

सिंह आज पनि नेपालमा कसैको हत्या गर्ने उद्देश्यले प्रवेश गरेको हुनसक्ने प्रहरीको अनुमान छ। उपरीक्षक काफ्ले भन्छन् ‘प्रहरीले समयमै सिंहलाई नियन्त्रणमा लिएर थप घटना हुनबाट बचायौँ।’

भारतको बिहार मोतिहारी जिल्ला तिनकोनी निवासी सिंहले हतियार सहित नेपाल प्रवेश गरेको सूचना पाएको प्रहरीले सिंहलाई नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीले पक्राउ गर्ने थाहा पाएर सिंह भाग्न खोज्दा विश्रामपुर गाउँपालिकाको मुसहर्वा भन्दा दक्षिण नहर भन्ने स्थानबाट खुट्टामा गोली प्रहार गरि नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्