तीन दिनसम्म बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट


 


सिन्धुली, पुस १० । सिन्धुलीमा तीन दिनसम्म बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट गरिएको छ ।

जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँमा महिलालाई अमानवीय तरिकाले बिजुलीको पोलमा बाँधेर कुटपिट भएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालका अनुसार ढकाल गाउँकी शारदा थापामाथि कुटपिट भएको हो । उक्त खबरपछि खटिएको प्रहरीले टोलीले नै ढकाल गाउँस्थित घर अगाडिको बिजुली पोलमा शारदालाई बाँधिएको थियो ।

आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको हो। उद्धार गरेपछि प्रहरीले उनलाई सेफ हाउसमा राखेको छ। प्रहरी पुग्दा भने शारदा अचेत अवस्थामै फेला परेको एसपी सिलवालले बताए।

त्यसपछि उनको उपचारको लागि सिन्धुली अस्पताल पुर्‍याइएको थियो । तीन दिनसम्म बाँधेर लाठी, हात, खुट्टाले हिर्काएको भन्ने बयान दिएकी छन्। बोल्न नसक्ने अवस्थामा भएकाले धेरै कुराकानी हुन नुकेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट शारदाको शरीरमा निलडामहरू भएको उनले बताए। अहिले स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको पनि एसपी सिलवालले बताए।

यस घटनापछि प्रहरीले शारदाका श्रीमान सन्तोष थापासहित सात जना स्थानीयहरूलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्