बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, बसमा आगजनी


 


मन्थली, पुस ९ । रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को पूर्वअरनिको यातायात सेवा समितिको बसले काठमाडौंबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई आज बिहान सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बस्ने खोटाङ जिल्ला दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जननएको छ ।

मोटरसाइकल चालक खोटाङको तुवाचुङ नपा–२ का कुमार राईको भने उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुनकोशी गाउँपालिका–३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिए ।

मन्थली नपा वडा नं– १३ फुलासीका २४ वर्षीय बसचालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घटनापछि स्थानीयले बसमा आगजनी गरेका छन् भने सडक अवरुद्ध गरेका छन् ।

प्रकाशित मिति: ९ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्