नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक प्रकाउ


 


काभ्रे, पुस ९ । काभ्रेमा नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको पाँचखाल नगरपालिका-६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार गरेको आरोपमा आइतबार पक्राउ गरिएको काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

पीडित बालिकाको सामाजिक सञ्जालमार्फत उनका साथीहरूले घटनाबारे थाहा पाएपछि आइतबार नगरपालिकालाई खबर गरिएको थियो।

आइतबार नै विद्यालय पुगेका जनप्रतिनिधिहरूले घटनाबारे बुझेपछि प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए । पक्राउ परेका दुवै शिक्षकलाई जिल्ला प्रहरी कार्यालय काभ्रे लगिएको छ ।

एक जनप्रतिनिधिका अनुसार विज्ञान शिक्षक श्रेष्ठले दसैं तिहारको बीचको बिदामा बालिकालाई ललाइफकाइ बनेपा लगेर बलात्कार गरेको खुलेको छ ।

त्यसपछि विद्यालयका प्रधानाध्यापकसहित अन्य शिक्षकहरूले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक मेसेज पठाउने गरेको देखिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

प्रकाशित मिति: ९ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्