उदासीन छन् चिनियाँ जनता


 


एजेन्सी । चीनको उच्च युवा बेरोजगारी दर र रोजगारले समेत रोजगारी छोड्न खोजिरहेका युवा विश्वका ठूला सञ्चारगृह र चिनियाँ नीति–निर्माताका लागि चासोको विषय बनेका छन् । यी समस्याका पछाडि प्रस्तुत गरिने भाष्यमा मुलुकको हालैको आर्थिक वृद्धिमा भएको गिरावट पर्छ । तर, समस्याको कारण सोचेभन्दा धेरै विकराल छ । चिनियाँ युवामा बढ्दो उदासीनता देशको कडा शिक्षा प्रणाली, ऐतिहासिक प्रजनन नीति र आन्तरिक आप्रवासनको सीमिततासँग जोडिएको छ । आप्रवासन मामिलामा आउने हुकुउ पञ्जीकरण प्रणालीअन्तर्गत सहरी बसोवासका लागि विद्यार्थीलाई राम्रो विश्वविद्यालय शिक्षाको आवश्यकता पर्छ । त्यसमाथि सहर एवं ग्रामीण क्षेत्रबीचको आय असमानताले उदासीनताको समस्या चर्काएको छ ।

राम्रा विश्वविद्यालय प्रवेश चुनौतीपूर्ण छ र त्यसमाथि सख्त विद्यालयीय शिक्षा प्रणालीले परिस्थितिलाई झन् चुनौतीपूर्ण बनाएको छ । नौ वर्षको अनिवार्य शिक्षापछि विद्यार्थीले शैक्षिक उच्च विद्यालयमा भर्ना पाउन प्रवेश परीक्षा दिनुपर्छ र यसमा ५० प्रतिशत विद्यार्थीलाई मात्रै उत्तीर्ण गराइन्छ । यो परीक्षामा उत्तीर्ण नहुने विद्यार्थी व्यावसायिक उच्च विद्यालयमा भर्ना हुन्छ । नतिजा तिनले न्यून पारिश्रमिकको काम पाउँछन् ।

चिनियाँ विद्यार्थीले विद्यालयमा मात्रै नभई महँगो निजी ट्युसन शिक्षकमा भर पर्नुपर्छ । शैक्षिक उच्च विद्यालयमा भर्ना पाउन यी बालबालिका अतिरिक्त क्रियाकलापमा पनि संलग्न हुन्छन् । तर, यसबाट हुने शैक्षिक उच्च विद्यालयको प्रवेश धेरै हदसम्म अपारदर्शी हुने गर्छ । विद्यार्थीमाथिको दबाब कम गर्न सरकारले नाफाका लागि ट्युसन पढाउने काममा प्रतिबन्ध लगायो र सार्वजनिक विद्यालयका शिक्षकलाई ट्युसन सेवा प्रदान गर्न निषेध ग¥यो । तैपनि, समस्या थप बल्झियो किनभने आपूर्ति घटेका कारण ट्युसन शिक्षकको सेवा शुल्क बढ्यो ।

सांघाई र बेइजिङमा धनी परिवारले ट्युसन प्रयोजनका लागि प्रतिघन्टा एक सय २० देखि चार सय डलर तिर्छन् र गरिब बालबालिका यी स्रोतबिनै कडा अध्ययन गर्नुपर्ने बाध्यतामा पर्छन् । सन् १९८० र १९९० को दशकमा सडक–टोल बालबालिकाले भरिएका हुन्थे, तर अहिले सप्ताहान्तमा पनि खेल मैदान खाली हुन्छन् । बालबालिका घरभित्रै गम्भीर अध्ययनको बोझ उठाउन बाध्य छन् ।

युवा उदासीनताको अर्को कारण भनेको एक्लोपन हो । सन् १९७९ देखि २०१६ सम्म चलेको एक सन्तान नीतिका कारण ग्रामीण क्षेत्रमा बालबालिकाले भाइबहिनीको अभाव महसुस गरे । एक सन्तान नीति आएपछिको दोस्रो पुस्ताका बालबालिकाका ‘कजिन’ (काका–फुपू–मामाका छोराछोरी–भाइबहिनी) पनि भएनन्, किनभने कजिन हुन बालबालिकाका लागि काका–फुपू–मामा नै थिएनन् । चिनियाँ कलेजका विद्यार्थीमाझ गरिएको एक सर्वेक्षणले भाइबहिनी हुने बालबालिकाको तुलनामा एक्लो बच्चाले तनाव र उदासीनता अनुभव गर्ने सम्भावना धेरै हुन्छ । र, सन् २०१० यता पाँचदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको आत्महत्या दर पाँच गुणाले बढेको छ । अभिभावक पनि चरम तनावमा छन् । आफ्ना छोराछोरीको हेरचाह गर्नुको अलावा अधिकांश अधबैँसे सहरी दम्पतीले चार वृद्ध आमाबाबुको पनि हेरचाह गर्नुपर्छ । ठीकविपरीत करिब ४९ करोड १० लाख चिनियाँ बसोवास गर्ने ग्रामीण क्षेत्रमा एक–सन्तान नीति कम कडाइसाथ लागू गरिएको थियो अर्थात् वयस्कलाई भाइबहिनी हुनाले जिम्मेवारी बाँडफाँडमा राहत मिल्यो । तर, यी वयस्कले सन्तान हुँदा थप तनाव सामना गर्छन् । अधिकांशले सहरमा बढी आम्दानी हुने काम खोज्नुपर्छ, तर हुकुउ पञ्जीकरण नियमका कारण यी वयस्क आफ्ना सन्तानलाई भने सहर लग्न पाउँदैनन् । स्मरण रहोस्, रोजगारी प्रयोजनका लागि चिनियाँ ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँसराइ गरेका मानिस करिब ११ प्रतिशत छन् ।

ग्रामीण क्षेत्रका अभिभावक, जो आफ्ना सन्तानसँग रहन्छन्, तिनका पनि आफ्नै समस्या छन् । सन् २००० देखि २०१५ सम्ममा करिब तीन लाख ग्रामीण विद्यालय बन्द भएपछि १२ प्रतिशत प्राथमिक तहका र ५० प्रतिशत माध्यमिक तहका विद्यार्थी टाढाको आवासीय विद्यालयमा पढ्न बाध्य छन् । ग्रामीण वयस्कहरूले आफ्ना सन्तानलाई शिक्षा उपलब्ध गराउन कडा परिश्रम गर्छन् र केही वर्षपछि ती सन्तानबाट अभिभावक अलग हुन्छन् ।

सन् २०१८ मा ३५ प्रतिशत चिनियाँ वयस्क उदासीनताको सिकार भएका थिए । ग्रामीण क्षेत्र र महिलामा यो आँकडा ५० प्रतिशतले बढी थियो । व्यापक उदासीनताले समाजका लागि खतरा निम्त्याउँछ, अर्थात् यसमा सम्भावित आर्थिक स्थिरता, न्यून प्रजनन क्षमता र सन् १९९० को दशकमा जापानले व्याहोरेजस्ता समस्या पर्छन् । तर, चीनका लागि सुखद समाचार छ, अर्थात् विद्यमान परिस्थितिका प्रत्यक्ष नीतिगत समाधान छन् । पहिलो कठोर केन्द्रीय योजनाबद्ध विद्यालयीय शिक्षा हटाउनु हो । यसमा स्थानीय सरकारलाई विद्यालय र विद्यार्थी संख्या निर्धारण गर्ने अधिकार उपलब्ध गराउनु हो । अधिकार उपलब्ध गराउने निर्णय गर्दा सरकारी निरीक्षण कायम राख्न भने आवश्यक छ ।

दोस्रो कदम भनेको ग्रामीण–सहरी बसाइँसराइ रहेका नियमन हटाएर परिवार पुनर्मिलन र ग्रामीण गरिबी घटाउनु हो । समग्र आर्थिक वृद्धि सुस्त हुँदा यो कदम महत्वपूर्ण हुनेछ । ग्रामीण क्षेत्रलाई सहरी क्षेत्रजस्तै समान अवसरको आवश्यकता छ । ग्रामीण श्रमले कम न्यून दक्षता आवश्यक पर्ने कारखानामा तीन करोड रिक्त पदपूर्ति गर्न मद्दत गर्न सक्छ । यी नीति लागू गर्दा शिक्षा प्रणालीमा वर्तमान सरोकारवालाको व्यवधान तेर्सिन सक्छ र बेरोकटोक बसाइँसराइले सहरी जनघनत्व बढाउन सक्छ । यद्यपि सम्भावित लाभले परिष्कृत आर्थिक वृद्धि र चीनका युवा एवं तिनका अभिभावकको मानसिक स्वास्थ्यमा सुधार निम्त्याउनेछ । (चियान चिनियाँ मूलकी अमेरिकी अर्थशास्त्री एवं प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्