धनगढीको जग्गा प्लटिङ कार्यविधिविरुद्ध सर्वोच्चमा रिट दायर


 


धनगढी, पुस ८ । धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ कार्यविधिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त कार्यविधि खारेज सम्बन्धी परमादेश माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले बुधबार ११ पुसमा पेशी तोकेको छ ।

साथै प्रतिबादी नगर प्रमुखलाई पौष ११ गतेका दिन पेशी समेत पत्रमा तोकिएको छ ।

धनगढी उपमहानरपालिकाले २५ मंसिरमा स्थानीय राजपत्रमा प्रकाशित गरेको कार्यविधीमा जग्गाको प्लटिङ गर्दा सडकको चौडाई कम्तीमा १० मिटरको हुनुपर्ने उल्लेख गरिएको छ ।

उक्त कार्यविधि नगरप्रमुख हमालले एकलौटी तरिकाले ल्याएको भन्दै वडाअध्यक्षसहितका कार्यपालिका सदस्यहरुले विरोध गर्दै आएका छन् भने नगरप्रमुख हमालले सहमतिमै उक्त कार्यविधि पारित भएको दाबी गरेका छन् ।

जग्गा कारोबारीहरुको दवावमा परेर वडाध्यक्षलगायत कार्यपालिका सदस्यहरुले पारित भइसकेको कार्यविधिको विरोधमा लागेको आरोप पनि छ ।

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्