कैलालीको भादा गाउँमा थारु होमस्टे महोत्सव हुने
धनगढी, पुस ५ । कैलालीको धनगढीस्थित भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ ।
थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले आज (बिहीबार) धनगढीमा पत्रकार सम्मेलन गर्दै आगामी पुस १७ देखि २२ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
धनगढी उपमहानगरपालिका–१६ मा रहेको भादामा थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग र जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको समितिका अध्यक्ष लक्ष्मीनारायण बखरियाले जानकारी दिए ।
उनले महोत्सवमार्फत थारु होमस्टे गाउँ भादाको प्रचारप्रसार पनि हुने बताए । महोत्सवमा थारु खानपानका परिकार, थारु सीपकला तथा भेषभूषा, थारु देउथान अवलोकन, लहरुमा गाउँको अवलोकन, थारु सङ्ग्रहालयको अवलोकन, काठे पिङलगायत आकर्षणको रुपमा रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवलाई एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । भादामा सन् २०११ बाट होमस्टे व्यवसाय सुरु भएको थियो ।
प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार