नर्सिङ पढ्न कक्षा १२ पास गर्नुपर्ने प्रस्तावमा छलफल, सीटीईभीटी असहमत


 


काठमाडौं, पुस ३ । प्राविधिक र व्यवसायिक शिक्षासम्बन्धी नयाँ कानुन निर्माणका लागि छलफल सुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ऐन, २०४५’ को सट्टामा टेक्निलकल, भोकेसनल, एजुकेशन एन्ड ट्रेनिङ (टीभीईटी) विधेयक ल्याउन छलफल सुरु गरेको हो ।

प्रस्तावित विधेयकको मस्यौदामा नर्स, पारामेडिक्स, फार्मेसी लगायतको डिप्लोमा तहका कार्यक्रम पढ्न कक्षा १२ उत्तीर्ण हुनुपर्नेलगायतको व्यवस्था गरिएको छ ।

गत शनिबार शनिबार मन्त्रालयका सहसचिव, कानुन अधिकृत र सीटीईभीटीका पदाधिकारीबीच नयाँ विधेयकको मस्यौदाबारे छलफल भएको थियो ।

तर सो छलफलमा सीटीईभीटीले डिप्लोमा तहका प्राविधिक तथा व्यवसायिक शैक्षिक कार्यक्रम पढ्न विद्यार्थीको शैक्षिक योग्यता एसईई नै कायम गर्नुपर्ने सुझाव दिइएको छ ।

यस्तै छलफलमा हरेक प्रदेशमा प्रादेशिक परिषद् हुनुपर्ने, प्रदेश परिषद्को अध्यक्षता सामाजिक विकास मन्त्रालय अथवा सरोकारवाला मन्त्री हुनुपर्ने र सदस्य सचिव केन्द्रबाट जानुपर्ने सुझाव दिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा डिप्लोमा तहको नर्सिङ, फार्मेसी, एचए, ल्याब, रेडियोग्राफी लगायतको १७ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

एसईई उत्तीर्ण भएकाले पढ्न पाउने यी शैक्षिक कार्यक्रम अध्ययनका लागि विद्यार्थीको शैक्षिक योग्यता संशोधन गर्ने नयाँ विधेयकको मस्यौदाबारे मन्त्रालय र सीटीईभीटीको मत मिलेको छैन ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्