नक्कली सवारी दर्ता किताव बनाउने दुई जना पक्राउ


 


काठमाडौं, पुस २ । लिखत किर्ते गरी नक्कली सवारी दर्ता किताव बनाएको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–८ घर भई काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबि भन्ने दिल बहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका छन् ।

केही व्यक्तिहरुले लिखत किर्ते गरी सवारी दर्ता किताव लगायतका कागजातहरु तयार गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दिलबहादुरलाई काठमाडौं कालीमाटीबाट र आइतसिंहलाई
मनोहरा नगरपालिका–१ बम्ह्रखेलबाट पक्राउ गरेको हो ।

उनीहरूबाट बाग्मती प्रदेश ०१०२५ च २७५९ नम्वरको कारको ब्लुबुक १ थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र ४ थान, कार ५ थान, विभिन्न सरकारी कार्यालयका छापहरु ४ थान र मोबाइल २ थान बरामद भएको छ ।

उनीहरुलाई लिखत किर्ते सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्