भिजिट भिसामा दुबई बोलाएर साढे २ करोड बढी ठगी गर्ने एक जना पक्राउ


 


काठमाडौं, पुस २ । रोजगारी लगाइदिने बाहानामा भिजिट भिसामा दुबई बोलाई ठगी गरेको आरोपमा इन्टरपोलको माध्यमबाट प्रहरीले दुबईबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले युएईको दुबई स्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी प्रालिका सञ्चालकसमेत रहेका सर्लाही जानकीनगर स्थायी ठेगाना भई काठमाडौंको कागेश्वरी–७ का ४१ वर्षीय कोमलराज उपाध्यायलाई इन्टरपोलको समन्वयमा पक्राउ गरेको हो ।

पीडितहरुबाट विभिन्न माध्यमबाट दुई करोड ६३ लाख ५४ हजार बढी रुपैयाँ ठगी गरेर फरार रहेको आरोपमा प्रहरीले उनलाई इन्टरपोलको समन्वयमा नेपाल झिकाएको जनाएको छ ।

श्रीराम रानाभाट समेत ८३ जना व्यक्तिहरुलाई दुबईमा विभिन्न पदमा आकर्षक तलब हुने रोजगारीको प्रलोभन देखाई उनले जाहेरवालाहरुबाट विभिन्न माध्यमबाट रकम असुल गरेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराका प्रवक्ता एवम् सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

उपाध्यायलाई गएको शुक्रबार पक्राउ गरेर प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अनुसार कारवाहीको लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराएको जनाएको छ ।

प्रकाशित मिति: २ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्