त्रिशुली थ्री बी जलविद्युत आयोजनाको ठेक्का सम्झौता तोडियो


 


काठमाडौं, पुस २ । नेपाल विद्युत प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको ठेक्का सम्झौता तोडेको छ ।

प्राधिकरणको सहायक कम्पनी माथिल्लो त्रिशुली थ्री बी जलविद्युत कम्पनीले आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही गरेको भन्दै चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँगको ठेक्का सम्झौता तोडेको हो ।

रसुवा र नुवाकोटमा निर्माणाधीन उक्त आयोजनाको करिब ६६ प्रतिशत काम सकिएको छ र पछिल्लो समय काम ठप्प छ । ठेक्का तोडेर बैंक ग्यारेन्टी र पर्फर्मेन्स ग्यारेन्टी समेत जफत गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

उनका अनुसार इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणको जिम्मा लिएको सुइफा ग्रुपले १ वर्षदेखि प्रगति देखिने गरी काम नै गरेको थिएन । बाँकी काम गर्न पुसभित्रै अर्को ठेक्का लगाउन सूचना प्रकाशित गरिने घिसिङले बताए ।

ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नुपर्ने थियो ।

आयोजनाको अनुमानित लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्