श्रमिक हक अधिकार कागजमै सीमित


 


काठमाडौं । वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यक्रम गरिरहेका छन् । सरकार र वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले आइतबारदेखि आउँदो शुक्रबारसम्म साताव्यापी रूपमा श्रमिकका हक अधिकारका विषयमा कार्यक्रम गरिरहेका छन् ।

सरोकारवालाले वैदेशिक रोजगारीका क्रममा ठगिएका श्रमिकलाई न्याय दिन सफल भएको भन्दै तथ्यसमेत सार्वजनिक गरेका छन् । वैदेशिक रोजगार विभागको महानिर्देशकको पदबाट भर्खर अन्य कार्यालयमा सरुवा हुुनुुभएका मदन दाहालले विभागमा आएका धेरै उजुरीको सुनुवाइ गरेको दाबी गरे ।

चालुु आर्थिक वर्ष २०८०÷८१ मा विभागमा परेका ८६१ वटा उजुरीमध्ये २३० उजुरीको मिलापत्र गरी विगतको तुुलनामा धेरै सुुधार गरेको उहाँको दाबी छ ।यता कास्कीका अविरल सुवेदीले वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा विगत दुई वर्षदेखि धाइरहेको तर न्याय पाउने आस हराएको गुनासो गरे ।

रोमानियामा स्टार होटलको काममा पठाइदिने भन्दै ऋण गरेर गाउँकै दाइ पर्नेलाई सात लाख रुपैयाँ बुझाएका सुवेदीले भने, “विदेश जाने त परैको कुरा उल्टै ऋण गरेको पैसा असुलका लागि काठमाडौँ धाउँदा एक लाख रुपैयाँ थप ऋण थपियो ।”

काठमाडौँमा बस्ने ती दाइ अहिले फोन स्विच अफ गरेर फरार छन्, विदेश जानभन्दा पनि दिएको पैसा फिर्ता गर्नुपर्ने मागसहितको उजुरी गरेर दुई वर्षदेखि विभागमा धाइरहेका छन् । उनी एउटा प्रतिनिधि मात्रै हो । उहाँ जस्ता धेरै युवा युरोपको आकर्षक रोजगारीको प्रलोभनमा परेर ठगिएका छन् । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: २ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्