राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान


 


काठमाडौँ, पुस १ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

आयोगले निर्वाचनका लागि दर्ता हुन आएका दलहरुलाई क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरेको हो ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसपटक १२ राजनीतिक दलले दर्ता गराएका छन् । आयोगले निर्धारण गरेको क्रमानुसार पहिलो नम्बरमा नेकपा एमाले छ ।

त्यसपछि क्रमशस् नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी रहेका छन् ।

आयोगले ती दलका चिन्हलाई नै राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि प्रयोग गर्ने गरी निर्वाचन चिन्ह प्रदान गरेको छ ।

राष्ट्रियसभाका २० जना सदस्यहरुको पदावधि सकिदैछ । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।

प्रकाशित मिति: १ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्