माओबादी नेता न्यौपानेकाे टिप्पणी– माओवादीको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा गएर टुंगियो


 


काठमाडौं, पुर १ । प्रधानमन्त्री एवम् माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहादद प्रचण्डकी नातिनीको गोकर्ण फरेष्ट रिसोर्टमा भव्यरुपमा गरिएको विहेको विषयलाई लिएर आलोचना भइरहेका बेला त्यसैलाई बल पुग्ने गरि माओबादीकै नेता लेखनाथ न्यौपानेले पनि नेतृत्वप्रति कटाक्ष गरेका छन् ।

नेता न्यौपानेले सामाजिक सञ्चालमार्फत माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालप्रति कटाक्ष गर्दै टिप्पणी गरेका छन् ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन ।’

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पूर्वकेन्द्रीय अध्यक्ष समेत रहेका न्यौपानेले लुम्बिनी विकास कोषमा विवादित लामाको नियुक्ति र प्रचण्डकी नातिनीको बिहेको सन्दर्भ जोडेर सामाजिक सन्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि पार्टीभित्रै आलोचना भएको थियो

पूर्वराज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य लामा ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक–पटक पक्राउ पर्ने गरेका थिए । उनैलाई प्रचण्डले पाँच वर्षका लागि लुम्बिनी विकास कोषको उपाध्यक्षमा गत साउनमा नियुक्त गरेपछि सरकारको आलोचना भएको थियो ।

अहिले फेरि प्रचण्डकी नातिनी (भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकी छोरी)को बिहे शुक्रबार गोकर्ण फरेष्ट रिसोर्टमा भव्यरुपमा गरिएको विषयलाई लिएर पनि कतिपयले आलोचना गरिरहेका छन् ।

माओवादी केन्द्रले अहिले चलाइरहेको रुपान्तरण अभियानको बेलामा जनयुद्ध लडेर आएका नेताको परिवारका सदस्यको बिहेको तामझाम बहसको विषय बनिरहेको छ ।

प्रकाशित मिति: १ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्