टिकटक प्रतिबन्धपछि टिन्डर, स्न्यापच्याट र बिगोजस्ता एप पनि सरकारको निगरानीमा


 


काठमाडौं । चर्चित एप टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको सरकारले अरू केही एप बन्द गर्न सक्ने सङ्केत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अश्लीलता फैलाउने र यौनजन्य सामग्रीको आदान प्रदान हुने भन्दै थप केही एप निगरानीमा रहेको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले केही एपबाट सामाजिक मूल्य मान्यता विपरीतका क्रियाकलाप गर्ने काम भइरहेको भन्दै रोक लगाउनुपर्ने बताए ।

रायमाझीका अनुसार अनलाइन डेटिङ एप टिन्डर, म्यासेजिङ एप स्न्यापच्याट, टनटन, बिगो, बम्बल र लाइकी जस्ता एप निगरानीमा छ । यी एपहरू डेटिङ, साथी खोज्न भिडियो र फोटो शेयर गर्न युवा पुस्तामाझ चर्चित छन् ।

सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै कात्तिक २७ गते सरकारले चिनियाँ कम्पनीको स्वामित्वमा रहेको टिकटक एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

टिकटक बन्द गर्ने सरकारको निर्णय अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको भन्दै खारेजीको माग गर्दै सर्वोच्च अदालतमा १० वटा निवेदन दर्ता भएका थिए । टिकटक बन्द गर्ने निर्णयको कार्यान्वयन र त्यसपछिका सार्वजनिक प्रतिक्रियालाई नियालिरहेको सरकारले थप एप बन्द गर्न सक्ने सङ्केत गरेको हो ।

नेपाल प्रहरीको तथ्यांकअनुसार सामाजिक सञ्जालको प्रयोग गरी हुने साइबर अपराधका घटना बढ्दो छ । फेसबुक, म्यासेन्जर र टिकटकको प्रयोग गरेर साइबर अपराध भएको उजुरी धेरै संख्यामा पर्ने गरेका छन् ।

अश्लील भिडियो र क्रिप्टोकरेन्सीको कारोबार हुने साइट सरकारले यसअघि नै बन्द गरिसकेको छ ।

प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्