सिद्धबाबाको सफाइविरुद्ध उच्च अदालतमा पुनरावेदन


 


विराटनगर, मंसिर २८ । महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ ।

गिरीलाई २७ भदौमा जिल्ला अदालतले सफाईको फैसला गरेको थियो । सोही फैसलाविरुद्ध सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।

गिरीमाथि ४ कात्तिक २०७६ मा चतरास्थित आश्रममा महिला अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप छ ।

तर दोस्रो पटकको सुनुवाइका क्रममा जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले मुख्य प्रमाणको रुपमा पेश भएको अडियो रेकर्ड परीक्षण गर्ने विज्ञको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सफाइ पाउने फैसला गरेको थियो ।

यसअघि २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । त्यसका विरुद्ध वादी पक्ष उच्च अदालत पुगेको थियो ।

प्रकाशित मिति: २८ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्