महिला नेत्रहीन क्रिकेट सिरिजको उपाधि भारतले जित्यो


 


काठमाडौं, मंपसिर २८ । महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको उपाधि घरेलु टोली भारतले जितेको छ ।

मुम्बईमा भइरहेको सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारतले ३-१ को अग्रतासहित सिरिज आफ्नो बनाएको हो ।

यसअघि सुरुवाती दुई खेल भारतले जितेको थियो भने तेस्रो खेलमा नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पार्दै सिरिजमा फर्केको थियो ।

तर चौथो खेलमा घरेलु टोली भारतले पुनरागमन गर्दै सहज जित निकाल्यो । नेपालले दिएको १६६ रनको लक्ष्य भारतले १० बल अगावै ३ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतका लागि ओपनर शुष्मा पटेलले सर्वाधिक ४५ रन बनाइन् । शान्ति हान्दाले ३७ र राभान्नीले ३० रन जोडिन् । सिमु दासले अविजित ३० रन योगदान गरिन् । नेपालका लागि मुना अर्याल र प्रतिभा राईले समान १ विकेट लिए ।

त्यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा घरेलु टोली भारतले टस जित्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

जसमा नेपालले निर्धारित २० ओभर खेल्दै बिनिता पुनको अर्धशतकमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । कप्तानी समेत गरेकी बिनिताले सर्वाधिक ६९ रन बनाइन् ।

मनकेसी चौधरीले ३३, सृजना परियारले २४ र सरिता घिमिरेले १२ रन जोडे । मुना अर्याल खाता नै नखोली र निशा डगौरा ८ रनमा आउट भए । इशारा माया लुंगेलीले अविजित ६ रन बनाइन् ।

भारतका लागि पुला सरेनले २ तथा झिली बिरुअले १ विकेट लिइन् । अब नेपाल र भारतबीच सिरिजको पाँचौ तथा अन्तिम खेल बिहीबार हुनेछ ।

प्रकाशित मिति: २८ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्