काठमाडौँ महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध


 


काठमाडौँ, मङ्सिर २७ । काठमाडौँ महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

महानगरले खैनी, गुट्खा, पानपरागजस्ता सुर्तीजन्य पदार्थको बिक्रीका साथै सार्वजनिकस्थलमा धूमपानमा प्रतिबन्ध लगाएको महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले राससलई बताउनुभयो ।

उहाँले सुर्तीजन्य पदार्थको बिक्री गरेको पाइएमा महानगर प्रहरीले ती पदार्थ जफत गरी सम्बन्धित बिक्रेतालाई कानुनी कारबाही गरिने बताउनुभयो ।

यसअघि महानगरले आजदेखि लागु हुनेगरी सुर्तीजन्य पदार्थको बिक्री तथा धूमपानमाथि प्रतिबन्ध लगाइएको सार्वजनिक सूचना जारी गरेको थियो

काठमाडौँ महानगर जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुला क्षेत्र तोक्न सक्ने, बालबालिकालाई बिक्री वितरण गराउन नपाइने, सार्वजनिकस्थलको चारकिल्ला तोकी उक्तस्थल वरपर सुर्तीजन्य र पत्रुखानेकुरा बिक्रीमा निषेध गर्न सक्ने कानुनी व्यवस्था छ । रासस

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्