कोशीका मुख्यमन्त्री कार्की भन्छन् – ढुंगा हान्दैमा पहिचानवादी भइँदैन


 


दमक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुंगा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढंगले राख्न सुझाव दिएका छन् ।

दमक नगरपालिकाले आज यहाँ आयोजना गरेको लागुऔषधको नियन्त्रण, रोकथाम सचेतना र उपचार अभियान कार्यक्रमको शुभारम्भ सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहिचानका लागि भइरहेको आन्दोलन हिंसात्मक हुँदै गएकाले अब हिंसाबाट आफ्ना माग पूरा गर्ने भ्रम त्याग्नुपर्ने बताए ।

पहिचानवादीको नाममा हुँदै आएका गतिविधि सरकारले गम्भीररूपमा लिँदै आएको बताउँदै उनले पहिचानका नाममा हिंसा, अस्थिरता निम्त्याउने कार्य भएर त्यस्ता कार्य कानुन अनुसार नियन्त्रण गर्न सरकार बाध्य हुने बताए ।

पहिचानवादीले व्यक्ति लक्षित आक्रमण गर्ने कार्य ठिक नभएको उनको भनाइ थियो । उनले किरात सभ्यता र संस्कृति देशकै साझा गहना मात्र नभएर सम्पत्ति भएकाले यस्ता सम्पत्तिको संरक्षण र सम्वर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताए ।

उनले भने, “पहिचानको मुद्दा यो सरकारले अनुभूति हुने गरी काम गर्नेछ, त्यसमा चिन्ता लिनुपर्दैन ।” आफू मुख्यमन्त्री भएपछि राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको नाममा यो प्रदेशभित्रका विभिन्न जातजाति, भाषाभाषी, संस्कार र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नका लागि फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्न बजेट छुट्याएको बताउँदै अब चाँडै नै प्रदेश तहमा सरोकारवाला सम्मिलित समिति गठन गरी काम थाल्ने जानकारी दिए ।

‘लागुऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान दमकबाट सुरु भएको र यो प्रदेशभर आवश्यक भएको मुख्यमन्त्रीको भनाइ थियो । ‘संस्कारयुक्त समाज निर्माण गर्ने कुरामा हामी सधै तत्पर रहनुपर्छ र कोसी प्रदेश सरकार यसमा तत्पर छ,’’ उनको भनाइ छ ।

लागुऔषध प्रयोगकर्तालाई समाजमा पुनःस्थापित गर्न र यसका लतमा लाग्न नदिनका लागि सबैको सहयोग आवश्यक रहेकोमा पनि उनले जोड दिए । दमकको कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक–९ स्थित बिजुली अफिस सडकखण्डमा पहिचानवादीले कालो झण्डा देखाएर उनी सवार गाडीमा ढुंगा प्रहार गरेका थिए । रासस

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्