त्रिवि सिध्याउन दलहरू फेरि भागबन्डामा, विद्यार्थी विदेशतिर


 


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उपकुलपतिको पद कात्तिक १६ गते रिक्त भयो। सरकारले मुलुककै ठुलो त्रिविलाई तत्काल पूर्णकालीन उपकुलपति दिनुको साटो बढीमा तीन महिनाका लागि भन्दै शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसाललाई निमित्तको जिम्मेवारी तोक्यो। उपकुलपति प्राध्यापक धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल कात्तिक १६ गते सकिएपछि अर्को दिन भुसाललाई निमित्तको जिम्मेवारी दिइएको हो।

तीन महिने उपकुलपतिले विश्वविद्यालय थप संकटमा पर्ने प्राध्यापकहरूको चिन्ता छ। प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहालले विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम दैनिक कार्य सञ्चालन गर्न बढीमा ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी भुसाललाई दिएका हुन्।

यसैगरी मंसिर ८ गते त्रिवि सेवा आयोगका सदस्य हेमराज ढकालको चारवर्षे कार्यकाल सकिएको छ। आगामी पुस ८ गते रजिस्ट्रार प्राध्यापक पेशल दाहाल र चैत ८ गते निमित्त उपकुलपतिको जिम्मेवारी पाएका शिक्षाध्यक्ष भुसालको पनि चारवर्षे कार्यकाल सकिँदैछ। सेवा आयोगमा सदस्य पद रिक्त हुँदा उपप्राध्यापक पदको परीक्षा, सहप्राध्यापक र प्राध्यापकमा बढुवाका लागि अन्तर्वार्ता हुन सकेको छैन।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एव त्रिविका सहकुलपति अशोककुमार राईको संयोजकत्वमा कात्तिक २० गते तीन सदस्यीय उपकुलपति छनोट समिति गठन गरेको भए पनि हालसम्म कुनै काम नभएकाले नियुक्ति प्रक्रिया अघि नबढेको त्रिवि प्राध्यापक संघका सभापति वसन्त ढकाल बताउँछन्। उनले सरकारले विश्वविद्यालयलाई समयमै नेतृत्व दिएर प्राज्ञिक उन्नयनमा सहजीकरण गर्नुपर्नेमा जोड दिए।

‘उपकुलपति छनोटका लागि समिति गठन भए पनि काम अघि बढेको छैन। विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको बन्धक बनाउने काम अब दलहरूले बन्द गर्नुपर्छ,’ ढकालले भने, ‘भागबन्डा मिलाउने निहुँमा विश्वविद्यालयलाई नेतृत्वविहीन बनाउनु राम्रो होइन। यसको असर समग्र प्रशासन र शैक्षिक उन्नयनमा पर्छ।’

उपकुलपति छनोट समितिका सदस्य डा चन्द्रकला घिमिरेले समिति गठन भए पनि पत्र ढिला पाएकाले काम अघि बढाउन समय लागेको बताइन्। ‘उपकुलपति छनोट विधि, मापदण्ड बनाउन समितिले छलफल थालेको छ,’ त्रिवि बौद्ध अध्ययन केन्द्रीय विभागको प्रमुखसमेत रहेकी घिमिरेले भनिन्, ‘तीन महिनाका लागि शिक्षाध्यक्षलाई निमित्त उपकुलपति तोकिएको छ। यही अवधिभित्र समितिले कुलपतिसमक्ष उपकुलपतिमा नियुक्तिका लागि नाम सिफारिस गर्नेछ।’ यो समाचार नागरिक दैनिकमा छ ।

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्