यो वर्ष मेलम्चीको पानी नआउने निश्चित, ठेकेदार मुहानस्थलमै गएन


 


काठमाडौँ । प्राविधिक समस्याभन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमीकमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाइ भएको देखिएको छ । सम्बन्धित निकायहरूबिच समन्वयको अभाव रहँदा बाढीपहिरोबाट उत्पन्न समस्या समाधानको पहल नै हुन सकेको छैन ।

वर्षायाम सकिएको तीन महिना सकिँदा पनि मेलम्चीको पानी काठमाडौँ आउन नसक्दा सर्वसाधारण ट्याङ्करको पानी किनेर पिउन बाध्य छन् । गत वर्ष मङ्सिरको पहिलो सातादेखि नै पानी वितरण सुरु भइसकेको थियो ।

बाढीपहिरोले क्षति पुर्‍याउने त्रासमा जेठमा पानी पथान्तरण बन्द गरिएको थियो । यस वर्ष असोज २८ गते देशभरिबाट मनसुन बाहिरिएको छ । सुरुङमा पानी पथान्तरण बन्द भएको सात महिना र मनसुन बाहिरिएको दुई महिना बित्न लाग्दा पनि बाढीपहिरोले पुरिएको मेलम्चीको मुहान (हेडवर्क्स) खुलाउन अहिलेसम्म कुनै प्रयास गरिएको छैन ।

खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको अहिलेको ठेकेदारले सिनो हाइड्रोले बाँकी रकमको भुक्तानीलगायतका विभिन्न सर्त राखी काम सुरु नगरेकाले पानी वितरणमा ढिलाइ भएको बताए । सम्झौता अनुसार सिनो हाइड्रो आयोजनाको निर्माण कम्पनीका रूपमा कायम रहेसम्म अरू कुनै पनि कम्पनीले आयोजनासम्बन्धी कुनै पनि काम गर्न पाउने छैनन् ।

“काम त्यही ठेकेदारले गर्नु पर्छ । उसका मागबारे दुई दिनदेखि मन्त्रालयमा छलफल भइरहेको छ । उसको बाँकी रहेको रकम भुक्तानी गर्न मन्त्रालय तयार छ । ठेकेदार कम्पनीले धरौटी रकम फिर्ताका लागि अदालतमा दिएको मुद्दा अहिले विचाराधीन रहेकाले समेत समस्या देखिएको छ,” मन्त्री यादवले भने । आयोजनाको बिमा गरिएको र सोही रकमबाट नै ठेकेदारलाई भुक्तानी गर्नुपर्ने भएकाले रकमको कुनै समस्या नरहेको उनको भनाइ छ ।

करिब पाँच करोड रुपियाँ बाँकी रहेको रकमको भुक्तानी, धरौटी रकम फिर्ता र अदालतबाट मुद्दाको टुङ्गो नलागेसम्म मुहानस्थललगायत आयोजनाको कुनै पनि काम नगर्ने सर्त ठेकेदार कम्पनीको छ । निर्माण कम्पनी सिनो हाइड्रो यो वर्ष अहिलेसम्म आयोजनाको मुहानस्थलमा नै पुगेको छैन । याे समाचार गाेरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्