१ करोड रुपैयाँ ठगी आरोपमा भोजपुर र बर्दियाका दुई जना पक्राउ


 


काठमाडौँ, मंसिर २६ । थुनामा रहेका व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भोजपुर घर भई हाल काठमाडौँ बस्ने २६ वर्षीया रितु राई र बर्दिया घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले सुर्खेतको वीरेन्द्रनगर घर भएका रेवन्त खड्काको मुद्दा मिलाइदिन्छु भन्दै उनका बुवा अमर बहादुर खड्काबाट पटक–पटक गरी ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

रेवन्त खड्का आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दामा सीआईबीबाटै पक्राउ परी काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रहरी उपरीक्षक नवराज अधिकारीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्