नेपाल भारतसँग लज्जास्पद हार व्यहोर्दै समूह चरणबाटै बाहिरियो


 


काठमाडौं, मंसिर २६ । नेपाल एसिसी यू-१९ एसिया कपमा नेपाल भारतसँग लज्जास्पद हार व्यहोर्दै समूह चरणबाटै बाहिरिएको छ ।

नेपाल भारतसंग १० विकेटले पराजित भयो। नेपाल समूह ए मा तीनै खेलमा हारका साथ समूह चरणबाटै घर फर्किने भएको छ ।

जितको लागि ५३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । आर्शिन अतुल कुलकर्णी ३० बलमा १ चौका र ५ छक्कासहित ४३ रनमा अविजित रहे ।

आदर्श सिंह १३ बलमा २ चौकासहित १३ रनमा नट आउट रहे । नेपालका कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२।१ ओभरमा ५२ रनमा अल आउट भएको थियो ।

नेपाललाई सस्तैमा अल आउट गर्न भारतका तीव्र गतिका बलर राज लिम्बानीले सर्वाधिक ७ विकेट लिएका थिए । नेपालका कुनैपनि खेलाडीले १० रन बनाउन सकेनन् । नेपालका लागि हेमन्त धामीले १८ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाएका थिए ।

नेपालले भारतीय तीव्र गतिका बलर सामु रन जोड्न सुरुवात देखीनै संघर्ष गरेको थियो । सिनियर टोलीबाट खेली सकेका दुई प्रमुख ब्याटर देव खनाल २ र गुलशन झा ४ रनमा आउट भए ।

भरपर्दा ब्याटर अर्जुन कुमाल ७ रनमा आउट भएका थिए । दीपक बोहरा १, उत्तम थापामगर डक, दीपक प्रसाद डु्रमे गोल्डेन डक, दीपक बोहरा ७, दीपेश कँडेल ४, सुवास भण्डारी २ र आकाश चन्दले ४ रन बनाए ।

भारतका तीव्र गतिका बलर राज लिम्बानीले ९।१ ओभरमा ३ मेडनसहित १३ रन खर्चेर ७ विकेट लिए । शुक्लाको नाममा २ विकेट रह्यो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

नेपाल समूह ए मा सबै खेलमा हारका साथ बाहिरिएको हो । नेपालले लगातार दोस्रो पटक यू१९ एसिया कपमा जित विहीन हुँदै बाहिरिएको हो ।

२०२१ मा पनि नेपाल जित विहीन हुँदै बाहिरिएको थियो । नेपालले अव आगामी महिना हुने यू१९ विश्वकपको तयारी गर्नेछ ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्