चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा छ : मन्त्री बस्नेत


 


चितवन, मंसिर २५ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा सरकार लागेको बताएक छन् ।

सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद्मा संशोधनका विषयमा छलफल भइरहेको बताए ।

चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले गर्दा नेपालमा मेडिकल शिक्षा जुन ढङ्गले अघि बढ्नुपर्ने हो त्यो ढङ्गले अघि बढ्न नसकेको उनको भनाइ थियो । अहिलेसम्म ऐन संशोधनका विषयमा दुईपटकसम्म बैठक भइसकेको र संशोधनको प्रक्रियामा अघि बढेको उनले जानकारी दिए ।

चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको उनले बताए । चिकित्सा क्षेत्रमा २२ वर्षअघिभन्दा कम दरबन्दीले काम भइरहेको बताउँदै उहाँले यसलाई थप गरेर अघि बढ्ने बताए ।

यो ऐनलाई संशोधन गरेर गुणस्तरीय शिक्षा र शुल्क निर्धारण गर्ने कुरा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने कुरा गर्नुपर्ने उनले बताए । अहिलेको शिक्षा नीति केही खुकुलो हुनुपर्ने उनको भनाइ थियो ।

सरकारले अहिले एक सयदेखि तीन सय श्यया भएका अस्पताललाई नर्सिङ र प्यारामेडिकस पढाउने दिने र तीन सय श्ययाभन्दा माथि भएका अस्पताललाई एमबिबिएस पढाउन दिनेगरी खुकुलो पार्न लागेको उनले जानकारी दिए । सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर मेडिकल शिक्षा सञ्चालन गरिने मन्त्री बस्नेतले बताए ।

फरक प्रसङ्गमा मन्त्री बस्नेतले सूर्तीजन्य पदार्थमा लाइदै आइएको कर अब स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउने गरी काम भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्