जोगबनी पुगेका नेपाली युवकमाथि गोली प्रहार


 


विराटनगर, मंसिर २५ । भारतको जोगबनीमा विराटनगरका एक युवकमाथि गोली प्रहार भएको छ ।

सीमा क्षेत्रबाट झण्डै डेढसय मिटर भित्र भारतीय भूमि जोगबनीमा आइतबार साँझ विराटनगर महानगरपालिका–८ मधुमाराका करिब २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।

अज्ञात समूहले गरेको गोली प्रहारबाट संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको बताइएको छ ।

घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।

दैनिक उपभोग्य खाद्यवस्तु खरिदका लागि जोगबनी पुगेर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो । उनलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्याएको थियो ।

किनमेल गर्न जोगबनी पुगेका संग्रौलालाई कसले र किन गोली हान्यो भन्ने खुलेको छैन् । संग्रौलाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्