सन्दीप लामिछानेविरूद्धको सुनुवाई स्थगित, वकिलले दिए निवेदन


 


काठमाडौं, मंसिर २४ । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

सन्दीप लामिछाने पक्षका वकिलहरूले पेसी स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ स्थगित भएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए।

उनका अनुसार लामिछानेको मुद्दाको पेसी आइतबार न्यायाधीश पदम पाण्डेको इजलासमा तोकिएको थियो ।

काठमाडौं जिल्ला अदालतमा सन्दीप लामिछाने पक्षका वकिलहरूको निवेदनमा यसअघि पनि सुनुवाइ स्थगित भएको थियो । एउटा पक्षले मुद्दा स्थगितका लागि दुई पटकमात्र निवेदन दिन पाइने प्रावधान छ ।

यसअघि कात्तिक २३ गते यो मुद्दामा न्यायाधीश केशव घिमिरेले बहसको लिखित नोट मागेका थिए ।

सर्वोच्च अदालतले मुद्दालाई चाँडै टुंगो लगाउनु भनेपनि काठमाडौं जिल्ला अदालत यसबारे उदासिन देखिएको छ ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्