एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ, आफ्नै मान्छे योजनाकार


 


मकवानपुर, मंसिर २४ । मकवानपुरमा एक करोड रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले यही मङ्सिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए । साथै उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए ।

फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन् । घटनाको मुख्य योजनाकार पनि उनी रहेको प्रहरीले जनाएको छ । तीनैजना आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

घटनाको मुख्य योजनाकार निश्चल रहेको उनले बताए । प्रहरीले योजनाकार निश्चलको साथबाट पेस्तोलसहित २० थान गोली बरामद गरेको छ ।

आरोपितहरुले हेटौँडा–४ मा कोठा भाडामा लिएर लागुऔषधको कारोबारसमेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले तीनैजनाको साथबाट दुई मोटरसाइकल, दुई ग्राम खैरो हिरोइन, पाँच थान मोबाइल र रु ५० हजार बरामद गरेको छ ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्