सन्दीप लामिछानेको मुद्दालाई आज पहिलो प्राथमिकता


 


काठमाडौं, मंसिर २४ । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाईका लागि आज पेशी तोकिएको छ ।

जिल्ला अदालत काठमाडौंले आज लामिछानेको मुद्दालाई पहिलो प्राथमिकता दिँदै न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेशी तोकेको हो ।

गत २३ कार्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

बहस नोट पेश भइसकेपछि मुद्दा सुनुवाईका लागि फेरि पेशी तोकिएको हो । बन्द इजलासमा सुनुवाई गर्ने जिल्ला अदालतले यसपाली अन्तिम सुनुवाई गर्ने अपेक्षा गरिएको छ ।

करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो ।

जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्