नेपाल वायुसेवाको जहाज खरिदमा तीन कम्पनीको चासो


 


काठमाडौँ । नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको नयाँ जहाज खरिद बोलपत्रमा तीन वटा विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । निगमले गत कात्तिक ५ गते सार्वजनिक गरेको बोलपत्रमा दुर्गममा उडान भर्ने तीन वटा साना जहाज खरिदका लागि क्यानडा, चीन र भारतीय कम्पनीले चासो देखाएका हुन् ।

निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो, “निगमले खोलेको टेन्डरमा एयरक्राफ्ट इन्डस्ट्रिज चेक रिपब्लिक, हिन्दुस्तान एरोनटिक्स लिमिटेड र डी ह्याभिल्यान्ड एयरक्रयाफ्टले प्रस्ताव पेस गरेका छन् । परेका प्रस्तावसँगै आर्थिक र प्राविधिक पक्षलाई समेत हेरेर प्रक्रिया अघि बढ्ने छ ।” उहाँले प्रस्ताव पेस गर्नेमा चिनियाँ कम्पनी चेक रिपब्लिक लेट जहाज, भारतीय हिन्दुस्तान एरोनटिक्सले डोर्नियर र क्यानेडियन कम्पनी डी ह्याभिल्यान्ड एयरक्रयाफ्टले ट्विनअटर जहाज निर्माता कम्पनी रहेको बताउनुभयो ।

निर्माता कम्पनीले जहाज बिक्री गर्न पेस गरेका प्रस्तावमाथि मूल्याङ्कन समितिले परेका तोकिएको ढाँचामार्फत छनोट प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ । निगमले दुर्गम भेगमा उडाउने गरी तीन वटा ट्विनअटर जहाज किन्न बोलपत्रसमेत गरेको थियो । निगमका प्रवक्ता पौडेलले जहाज खरिदको आर्थिक स्रोत आफ्नै स्रोतबाट जोहो गरिने र हरेक जहाज छ महिनाको अन्तरमा ल्याइने जानकारी दिनुभयो ।

मन्त्रालयले २०७९ चैत २४ मा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरेको निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले सोल्टी होटल लिमिटेडमा रहेको एक करोड तीन लाख ३३ हजार ६९९ कित्ता सेयर बेचेर नयाँ जहाज खरिद गर्न सुझाव दिएको थियो । उक्त सेयर बेच्दा चार अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रुपियाँ पुग्ने समितिको प्रतिवेदनले देखाएको छ ।

अहिले निगमसँग आन्तरिकतर्फ दुई वटा साना जहाज सञ्चालनमा छन् । एउटा जहाज १० वर्षदेखि विमानस्थलमा बिग्रेको अवस्थामा छ । नयाँ जहाज खरिद गरेर सुर्खेत, नेपालगन्ज, विराटनगर र काठमाडौँ बेस भएर उडान गर्ने निगमको तयारी छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्