सुदूरपश्चिम महोत्सव भोलिदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने
धनगढी, मंसिर २१ । सुदूरपश्चिम महोत्सव भोलि (शुक्रबार)देखि सुरु हुँदैछ ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् ।
महोत्सव शुक्रवार मध्यान्ह साढे बाह्र बजे उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । त्यसक्रममा प्रधानमन्त्रीलाई १० बुँदे माग सहित १० किलोको माला लगाइने आयोजकले जनाएको छ ।
महोत्सवको तयारी पूरा भएको कैलाली उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
महोत्सव स्थलमा सुदूरपश्चिमका परिकारसहितका खानाका स्टल रहने व्यवस्था गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
उनले महोत्सव अनुमानित ३ करोडको लगानीमा सम्पन्न गरिने तथा महोत्सवमा उद्योगी व्यवसायको १० करोड बराबरको कारोबार हुने अनुमान गरिएका बताए ।
त्यस्तै सुदूरपश्चिम महोत्सव २०८० मा कृषि, जडीबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी ४ सय जति संख्याको स्टलहरूको सहभागिता रहेको उनले बताए ।
महोत्सवमा करिब ६ लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सवमा संग्रालयसहितको थारु गाउँ नै निर्माण गरिएको छ ।
महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु। ५०, सर्वसाधारणलाई रु। १ सय टिकट दर र फरक क्षमता भएकालाई निःशुल्क गरिएको जनाइएको छ ।
प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार