भारतमा मोदीको निर्णायक जित
काठमाडौं। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले अभूतपूर्व एवं महत्वपूर्ण सफलता हासिल गरेका छन्। पाँच राज्यको प्रान्तीयसभा विधानसभाका लागि भएको निर्वाचनमा अस्ति मत गणना भएका चारमध्ये तीन राज्यमा उनको भारतीय जनता पार्टी विजयी भएको छ।
मध्यप्रदेश, राजस्थान र छत्तीसगढ राज्यमा मोदीको पार्टीले स्पष्ट बहुमतसहित सरकार गठन गर्ने भएको छ। दक्षिण भारतीय राज्य तेलंगानामा भने प्रतिपक्षी राहुल गान्धीको कांग्रेस पार्टीले स्पष्ट बहुमत हासिल गरेको हो। उत्तरपूर्वको राज्य मिजोरममा आज मात्र मत गणना हुँदै छ।
संघीय सरकारको नयाँ कार्यकालका लागि आगामी २०२४ को अप्रिल वा मे महिनामा हुन गइरहेको आमनिर्वाचनका सन्दर्भमा अहिलेको प्रान्तीय निर्वाचनलाई सेमिफाइनलका रूपमा हेरिएको थियो ।
साथै यो निर्बाचनमा मोदीको भारतीय जनता पार्टीले नोक्सानी बेहोर्ने अनुमान गरिएको थियो । निर्वाचन प्रचारप्रसारको प्रारम्भिक दिनमा अधिकांश अपिनियन सर्भेमा हिन्दी भाषी तीन राज्य राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा कांग्रेस पार्टी जित्ने अनुमान आएको थियो ।
प्रचारप्रसारले गति लिँदै जाँदा प्रायः सबै सर्भेले छत्तीसगढमा एकतर्फी कांग्रेस अगाडि रहेको देखायो भने मध्यप्रदेशमा बराबरीको लडाइँ रहेको र राजस्थानमा भारतीय जनता पार्टीको झिनो सम्भावना देखायो ।
दक्षिणी राज्य तेलंगानामा चाहिं के चन्द्रशेखर रावको सत्तारूढ बीआरएस दोहरिने अनुमान गरिएको थियो । निर्वाचनपश्चात्को एक्जिट पोलमा समेत छात्तीसगढमा भारतीय जनताले राम्रो मत पाए पनि सरकार चाहिं कांग्रेसकै बन्ने निक्र्याैल गर्यो, मध्यप्रदेशमा केही सर्भेले मोदीको पार्टीले राम्रो संख्याका साथ जित्ने बताए पनि धेरैले कांग्रेस अगाडि रहने अनुमान ग¥यो र राजस्थानमा कडा प्रतिस्पर्धा हुने अनुमान गर्यो । तेलंगानामा प्रायः सबै एक्जिट पोलले कांग्रेसको विजयको भविश्यवाणी गरेको थियो ।
खास परिणाम आउँदा अधिकांश विश्लेषकको अनुमान गलत साबित भयो । चुनाव पूर्वको अनुमान गलत भए पनि एक्जिट पोलका हिसाबले दक्षिणी राज्य तेलंगानामा चाहिं कांगेसले जित्ने अनुमान सही साबित भयो ।
तेलंगानाको ११९ सदस्यीय विधानसभामा कांग्रेसले ६४ स्थानमा विजय हासिल गरेर स्पष्ट बहुमत पाएको छ । मौजुदा सत्ताधारी क्षेत्रीय दल बीआरएस ३९ सिटमा सीमित रह्यो । मोदीको दल भारतीय जनता पार्टीले मौजुदा विधान सभाको १ स्थानको तुलनामा ८ स्थान जितेको छ ।
यसलाई उल्लेखनीय मानिएको छ । २३० सदस्यीय मध्यप्रदेश विधानसभामा कांग्रेसको ६७ स्थानको तुलनामा भारतीय जनता पार्टीले १६२ स्थान हासिल गरेको छ । यो दुईतिहाइभन्दा बढी हो । यहाँ भाजपाले अझ सशक्त ढंगले सत्तायात्रा दोहोर्याएको छ ।
२०० सदस्यीय राजस्थान विधानसभामा भाजपाले ११६ स्थान जितेको छ भने कांग्रेस ६८ सिटमा सीमित रह्यो । यसरी कांग्रेसका वर्तमान मुख्यमन्त्री अशोक गहलोतको सत्तायात्रामा विराम लागेको छ । प्रायः सबैजसोको अनुमानविपरीत छत्तीसगढमा समेत भाजपाले ९० सदस्यीय विधानसभामा ५४ स्थान जितेर स्पष्ट बहुमत हासिल गरेको छ भने कांग्रेस ३६ सिटमा सीमित भएको छ ।
लोकप्रिय मानिएका कांग्रेसी मुख्यमन्त्री भुपेश बघेलको सत्तायात्रा समाप्त भएको छ । समग्रमा कांग्रेसले दुई राज्यमा सत्ता गुमाएर एक नयाँ ठाउँमा सत्ता पाएको छ भने भारतीय जनता पार्टीले एक मौजुदा सत्ता बचाउँदै दुई नयाँ राज्यमा सत्ता थपेको छ ।
यो निर्वाचनको परिणामले आगामी २०२४ मार्च अप्रिलमा हुने संघीय आमनिर्वाचनलाई ठुलो असर गर्ने विश्लेषकको बुझाइ छ । त्यसै भएर आमनिर्वाचनको पूर्वसन्ध्यामा भएको यो प्रान्तीय निर्वाचनलाई सेमिफाइनल भन्ने गरिएको हो ।
त्यसो त, २०१९ सालमा संघीय निर्वाचनभन्दा ठिकअघि भएको यस्तै निर्वाचनमा भारतीय जनता पार्टी उल्लेखित तीनै हिन्दी भाषी राज्यमा हारेको थियो । तर, चार महिनापछि भएको आमनिर्वाचनमा मोदीको पार्टीले यी तीनै राज्यमा कांग्रेसलाई लगभग बंग्यायो ।
प्रान्तीय चुनावमा आएको विपरीत परिणामलाई संघीय निर्वाचन पुरै पल्टाउन मोदीले सक्छन्, तर मोदी विरोधीमा त्यो क्षमता देखिएको छैन । यस हिसाबले यो निर्वाचन परिणामले विपक्षीमा निक्कै हडकम्प मच्चिएको छ ।
मोदी र उनको पार्टीसँग लड्न विपक्षीले ‘इन्डिया’ नामको गठबन्धन बनाउने प्रयास भइरहेको थियो । तर, यो परिणामले उक्त गठबन्धन प्रयास पनि तुहिने विश्लेषण गरिँदै छ ।
उत्तरप्रदेश, बिहार, गुजरात, मध्यप्रदेश, राजस्थान, बंगाल, महाराष्ट्र जस्ता लोकसभाको धेरै सिट भएको राज्यमा अब गठबन्धनका अन्य घटकले कांग्रेसलाई मुख्य दलका रूपमा उल्लेख्य सिट दिन तयार हुने छैन । त्यसै पनि यीमध्ये कतिपय राज्यमा कांग्रेसको प्रभाव न्यून छ ।
उदाहरणका लागि ८० स्थान भएको उत्तर प्रदेशमा कांग्रेसलाई मुस्किलले २ स्थान दिइने संकेत छ । महाराष्ट्र, बिहार र बंगालमा त्यही हाल छ । दक्षिणी राज्य तेलंगानाको विजयले कांग्रेसमा अहंकार बढ्ने समेत आँकलन गरिँदै छ ।
अर्कातर्फ यो परिणाम भाजपाको पक्षमा यति सुखद परिणाम आउनुका पछाडि मोदीको व्यक्तित्व र ‘जादू’ले ठुलो काम गरेको बताइँदै छ । विपक्षका सामु कुनै सर्वस्वीकार्य व्यक्तित्व छैन । कुनै समझदारी भएर साझा उम्मेद्वार भइहाल्यो भने पनि मोदीसामु त्यो व्यक्ति ‘बामपुड्के’ साबित हुने देखिन्छ ।
उदाहरणका लागि, कथित गठबन्धनको सबभन्दा ठुलो घटक कांग्रेसका नेता राहुल गान्धी अन्यका लागि स्वीकार्य नै छैनन् । कुनै तरिकाले उनलाई अगाडि सारियो भने पनि उनी मोदीसामु निक्कै होचा सावित हुने छन् ।
कांग्रेसको यो दुर्गतिको अर्को कारण उसको अल्पसंख्यक तुष्टिकरण नीति र सनातन हिन्दुविरोधी प्रस्तुति पनि हो भनिँदै छ । कांग्रेसकै नेता आचार्य प्रमोद कृष्णम भन्छन्, ‘कांग्रेसको यो दुःखद स्थितिका कारण सनातनको अपमान र त्यसकारण सनातनबाट दिइएको श्राप हो ।’
मोदीको अत्यन्तै चतुर रणनीति र कार्यकुशलताका कारण भाजपाको भोट दिन प्रतिदिन सुदृढ हुँदै गएको देखिन्छ । बहुसंख्यक हिन्दु मतदाता मात्र होइन गरिब अल्पसंख्यक समेत बिस्तारै उनको पक्षमा लामबद्ध हुँदै गएको देखिन्छ । गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नड्डा जस्ता कुशल रणनीतिकार संगठकको मेहनत एवं हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ताको परिश्रम त छँदै छ ।
मोदीको नेतृत्वमा केन्द्र सरकारले कोरोना कालमा गरेको व्यवस्थापन र कल्याणकारी योजनाले पनि उनलाई निक्कै सुदृढ बनाएको छ । छोटो समयमा २ अर्बभन्दा बढी खोप दिनु र ८० करोड मानिसलाई निःशुल्क अनाज उपलब्ध गराइएकाले मोदी निक्कै लोकप्रिय बनेका छ्न् । करोडौं शौचालय एवं आवास निर्माण पनि भएका छन् । मोदीको नेतृत्वमा अन्तर्राष्ट्रिय स्तरमा पनि भारतको छवि उज्ज्वल भएको विश्वास गरिन्छ ।
समग्रमा २०२४ मार्चतिर हुने आगामी संघीय संसद्को लोकसभा निर्वाचनमा नरेन्द्र मोदी र उनको पार्टी दुर्भेध्य शक्तिका रूपमा देखिएको छ ।
प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलबार