भारतको जम्मु कश्मीरका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार हुँदै


 


श्रीनगर । भारतको जम्मु कश्मीरका दुर्गम क्षेत्रमा तीव्र गतिमा स्वास्थ्य सेवा विस्तार भइरहेको पाइएको छ ।

सामुदायिक स्वास्थ्य केन्द्रका माध्यमबाट भारत सरकारले जम्मु कश्मीरमा स्वास्थ्य विस्तार गरिरहेको छ । जम्मु कश्मीरस्थित राजौरी जिल्लाको कन्डी क्षेत्रमा स्थापित सामुदायिक स्वास्थ्य केन्द्रमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना सेहद कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

यस कार्यक्रमअनुसार स्वास्थ्य जाँच, औषधि, एम्बुलेन्सजस्ता सेवाहरु निशुल्क प्रदान गरिन्छ । भारतीय समाचार संस्था एएनआईका अनुसार कन्डी कोट्रानाका क्षेत्रमा बसोबास गर्ने ८५ प्रतिशत मानिसहरु गरिबीको रेखामुनी रहेका छन् ।

सो क्षेत्रमा बसोबास गर्ने गरिब जनताको स्वास्थ्य सेवाई मध्यनजर गर्दै एक्सरे, ईसीजी, अल्ट्रासाउन्ड, दन्त सेवा र आकस्मिक सेवाहरु उपलब्ध गराइएको छ । कन्डी सामुदायिक स्वास्थ्य केन्द्रमा ब्लक मेडिकल अधिकृतका रुपमा कार्यरत डा. विनोद भटले कन्डी र पिर पञ्जल क्षेत्रमा जाडोयाममा देखा पर्ने समस्यालाई मध्यनजर गर्दै उच्च सावधानी अपनाइएको जानकारी दिए ।

एएनआईसँगको कुराकानीमा उनले अहिले निकै चिसो बढेकाले आफूहरुले स्वास्थ्यकर्मीहरुलाई सावधानी अपनाउन निर्देशन दिएको बताए । उनले पर्याप्त मात्रामा आपूर्ति गरिएकाले चिसो मौसममा पनि स्वास्थ्य उपकरण एवम् औषधिको अभाव नहुने उल्लेख गरे ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्