भारतले चीन र पाकिस्तानसँगको सीमामा हवाई ब्रिगेडको तैनाथी बढाउने


 


नयाँ दिल्ली । भारतीय सेनाले चीन र पाकिस्तानी सीमा क्षेत्रमा हवाई ब्रिगेडको तैनाथी बढाउने भएको छ । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतीय सेनाले ती क्षेत्रमा हवाई ब्रिगेडलाई विस्तार गर्न लागेको हो ।

कमाण्ड र कन्ट्रोल प्रणालीलाई थप सुदृढ गर्नका लागि यस्तो निर्णय लिइएको उच्च सैनिक अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

हरेक हवाई ब्रिगेडमा ५० देखि ६० हेलिकोप्टर तैनाथ हुने गरेका छन् । यस्ता ब्रिगेडमा आक्रमण/निगरानी गर्ने हेलिकोप्टर, बन्दोबस्तीका मध्यम एवम् भारी हेलिकोप्टरका साथै मेडिकल हेलिकोप्टर रहने गर्छ ।

हाल सीमा क्षेत्रमा तीन सैन्य ब्रिगेड तैनाथ रहेको र ब्रिगेड थप गर्ने प्रक्रिया जारी रहेको ती सैन्य अधिकारीले एएनआईलाई बताएका छन् । उनले हाल अपाचे अट्याक हेलिकोप्टरका लागि पाइलट एवम् प्राविधिकहरुको प्रशिक्षण सम्पन्न भएकोसमेत जानकारी दिएका छन् ।

त्यसबाहेक हेरोन एमके २ र हर्मेस ९०० स्टारलाइनर्सले पनि भारतीय सेनाको क्षमता थप विस्तार हुने उनको भनाइ छ । उनले भारतीय सेनामा महिलाहरुको सहभागिता पनि बढ्दै गएको जानकारी दिए ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्