बाइडेनको नजरमा चिनियाँ राष्ट्रपति सी अझै तानाशाह


 


काठमाडौं । लामो समयपछि चीनका राष्ट्रपति सी जिन पिङले अमेरिकाको भ्रमण गरेका छन् ।

दुई देशबीच तनाव उत्पन्न भइरहेका बेला सीको अप्रत्यासित अमेरिका भ्रमणलाई अर्थपूर्ण मानिएको छ । तर बेइजिङ आइपुग्दा नपुग्दै सीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले तानाशाहकै स्थानमा राखेका छन् ।

क्यालिफोर्नियामा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को शिखर सम्मेलनमा चिनियाँ समकक्षी सीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा बाइडेनले सीलाई पुनः तानाशाहको संज्ञा दिएका हुन् ।

यसअघि गत जुनमा दुई देशबीच उच्च तहको कुराकानी भएको भोलिपल्टै बाइडेनले सीलाई तानाशाह भनेका थिए ।

यसपटक चिनियाँ राष्ट्रपति सीसँग निकै प्रभावकारी संवाद भएको बताइरहेका बेला बाइडेनको भनाइ बाहिर आएको हो । अहिलेसम्म यसबारेमा बेइजिङले केही प्रतिक्रिया जनाएको छैन ।

चिनियाँ सञ्चारमाध्यमले पनि विश्वका दुई प्रभावशाली नेताबीच सौहार्दपूर्ण र प्रभावकारी संवाद भएको जनाएका छन् । पत्रकार सम्मेलनमा सीएनएनकी पत्रकार एमजे लीले सोधेको ‘के तपाईं अझै पनि चिनियाँ राष्ट्रपति सीलाई तानाशाह भन्नुहुन्छ ?’ भन्ने प्रश्नमा बाइडेनले भनेका छन्, ‘हेर्नुस्, उनी हुन् । मैले यस अर्थमा उनलाई तानाशाह भनेको हुँ कि, उनी यस्तो देशको सत्ता चलाउँछन् कि जुन कम्युनिस्ट देश हो । जहाँको सरकारको स्वरूप हाम्रोभन्दा पूर्ण रूपले फरक छ ।’

बाइडेनले आफूलाई चिनियाँ राष्ट्रपति सीलाई सबैभन्दा बढी संगत गरेको अमेरिकी नेताका रूपमा समेत उभ्याएका थिए ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्