नेपालमा बन्द गरिएकाे टिकटक अन्य कुन-कुन देशमा छ बन्द ?


 


काठमाडाैं । सोमबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।

सरकारको निर्णय गलत भएको भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणीहरू भइरहेका छन्।

सरकारमै रहेको नेपाली कांग्रेस, प्रतिपक्षमा रहेको नेकपा एमाले, राष्ट्रिय स्‍वतन्त्र पार्टी, राप्रपाले यसको विरोध जनाइसकेको छ।

सरकारले यसलाई बन्द गर्नुको सट्टा नियमन गर्नुपर्ने उनीहरूको भनाइ छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार उल्टो बाटो हिँडेको बताएका छन्।

सामाजिक सञ्जालको दुरूपयोग गर्नेलाई निरूत्साहित गर्न नियमन गर्न आवश्यक रहेको तर त्‍यसलाई बन्द गर्ने निर्णय गलत भएको उनको भनाइ छ। यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन्।

त्यस्तै, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाललाई नियमन गर्न आवश्यक रहेको तर सरकार नियन्त्रण गर्नतिर लागेको टिप्पणी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले पनि टिकटकलाई बन्द नभई नियमन गर्नुपर्ने बताएका छन्।

गोपनीयता र साइबर सुरक्षाको चिन्ताका कारण धेरै देशहरूले टिकटक बन्द गरेका छन्। कतिपयले पूर्ण रूपमा बन्द गर्ने निर्णय गरे पनि कतिपयले आंशिक रूपमा बन्द गरेका हुन्।

नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सद्भाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग भएकाले बन्द गर्ने निर्णय गरेको बताइन्।

टिकटक चिनियाँ टेक्नोलोजी कम्पनी बाइट डान्सले चलाउँछ। यो एपले चिनियाँ सरकारलाई डाटाहरू दिने आरोपहरू लाग्ने गरेको छ।

कम्पनीले भने सरकारलाई कुनै खालको डाटा नदिने बताउँदै आएको छ।

यी हुन् टिकटक बन्द गरिएका देशहरू:

भारत

छिमेकी मुलुक भारतले राष्ट्रव्यापी रूपमा टिकटकलाई बन्द गरेको छ। सन् २०२० मा गोपनीयता र सुरक्षाको चिन्ताले टिकटकसहित दर्जनौं चिनियाँ एपहरू राष्ट्रव्यापी रूपमा बन्द गरिएको थियो। बन्द भएका एपहरूमध्ये विच्याट पनि थियो।

लद्दाखको गलवानमा चिनियाँ र भारतीय सेनाबीच झडप भएको थियो। त्यसमा २० भारतीय सैनिक र केही चिनियाँ सैनिक मारिएका थिए। भारतले टिकटक कम्पनीलाई गोपनीयता र सुरक्षामाथि उठेका प्रश्नको जवाफ दिने मौका दिएको थियो। तर पछि स्थायी रूपमै बन्द गर्ने निर्णय गर्‍यो।

अफगानिस्तान

अफगानिस्तानमा तालिबानी सरकार आएपछि टिकटक बन्द गरेको थियो। तालिबानले सन् २०२२मा पब्जीसँगै टिकटकलाई पनि बन्द गर्ने निर्णय गरेको थियो। युवापुस्तालाई बहकिनबाट रोक्न यो निर्णय गरेको बताएको थियो।

अस्ट्रेलिया

अस्ट्रेलियाले आंशिक रूपमा टिकटक बन्द गरेको छ। यसले सरकारी फोनहरूमा टिकटक चल्न बन्द गरेको हो। गुप्तचर तथा सुरक्षा निकायहरूको सुझावपछि अस्ट्रेलियाले सरकारी फोनहरूमा टिकटक चलाउन बन्द गरेको हो।

बेल्जियम

बेल्जियमले पनि टिकटक आंशिक रूपमा बन्द गरेको छ। साइबर सुरक्षा, गोपनीयता र गलत सूचना फैलिएका कारण सरकारी फोनहरूमा टिकटक बन्द गर्ने निर्णय लिएको हो। प्रधानमन्त्री एलेक्सजेन्डर डी क्रुले गत मार्चमा टिकटक ६ महिनाका लागि बन्द गर्ने निर्णय गरेका थिए। ६ महिनापछि यसबारे पुनर्विचार गर्ने बताएको थियो।

क्यानडा

क्यानडा सरकारले पनि सबै सरकारी मोबाइल फोनमा टिकटक प्रतिबन्ध लगाएको छ। गत फेब्रुअरीमा सबै सरकारी फोनहरूमा टिकटक बन्द गरिदिने निर्णय गरेको थियो। सरकारी कर्मचारीहरूले पनि उक्त एप डाउनलोड गर्न नमिल्ने बनाइएको छ।

डेनमार्क

डेनमार्कले पनि गत मार्चमा सरकारी फोनहरूमा टिकटक चलाउन प्रतिबन्‍ध गरेको छ। साइबर सुरक्षा भएको भन्दै डेनमार्कले पनि यसलाई प्रतिबन्ध लगाएको छ। जासुसीको सम्भावना रहेको र फोनमा पहुँच पुर्‍याउन अनुमति माग्ने गरेको भन्दै प्रतिबन्ध लगाएको हो।

युरोपियन युनियन

गत मार्चमा युरोपियन युनियनले पनि टिकटकलाई अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको थियो। सरकारी कर्मचारीहरूको फोनमा टिकटक नचल्ने गरी निर्णय गरेको थियो। युरोपियन युनियनले निर्णय गरेसँगै अन्य राष्ट्रले पनि टिकटकलाई प्रतिबन्ध लगाउँदै गएको थियो।

फ्रान्स

फ्रान्सले पनि गत मार्चमै टिकटकलाई आंशिक रूपमा बन्द गर्ने निर्णय गरेको थियो। यसले सरकारी कर्मचारीहरूको फोनमा टिकटकमात्रै नभई ट्विटर, इन्स्टाग्राम र अन्य एपहरू बन्द गरेको छ। टिकटकलाई मात्रै प्रतिबन्ध गर्ने नभने पनि मनोरञ्जनात्मक एपहरू बन्द गर्ने बताएको थियो। यस्ता एपहरू सुरक्षित नभएको र खतरा हुनसक्ने बताउँदै बन्द गरेको थियो।

लात्भिया

गत मार्चमा लात्भियाका राष्ट्रपति एड्गार्डस रिनकिभिक्सले सुरक्षाका कारण टिकटक आफूले नचलाउने निर्णय गरेको बताएका थिए। उनले आफूले टिकटक डिलिट गरेको र यो एप सरकारी मेलहरू हुने फोनहरूमा चलाउन प्रतिबन्ध गरिएको बताएका थिए।

नेदरल्यान्ड्स

नेदरल्यान्ड्सले पनि सुरक्षाको कारण देखाउँदै कर्मचारीहरूको फोनमा टिकटक बन्द गरेको छ। यसले टिकटकको नाम तोकेर प्रतिबन्ध नलगाए पनि राष्ट्रविपरीत चलेका एपहरू नचलाउन सरकारले निरूत्साहित गरेको बताएको थियो।

न्युजिल्यान्ड

सरकारी साइबर सुरक्षा विज्ञहरूको सल्लाह र सुझावअनुसार न्युजिल्यान्डले पनि सरकारी कर्मचारी तथा सांसदहरूको फोनमा टिकटक बन्द गरेको छ। संसदको नेटवर्कमा रहने सबै फोनहरूबाट एप बन्द गरेको थियो। यद्यपि चलाउन चाहनेहरूका लागि भने कुनै रोक लगाइएको छैन।

नर्वे

नर्वे सरकारले पनि सरकारी कर्मचारीहरूको फोनमा इन्स्टल नगर्न भनेको थियो। नर्वेका सभामुखले टिकटक संसदको नेटवर्कमा जोडिन नहुने बताएका थिए। यहाँको राजधानी अस्लो र बर्जनले पनि आफ्ना कर्मचारीहरूलाई टिकटक आफ्नो फोनहरूबाट हटाउन भनेको थियो।

पाकिस्तान

पाकिस्तानी अधिकारीहरूले अस्थायी रूपमा कम्तीमा पनि चार पटक बन्द गरिसकेका छन्। सन् २०२० अक्टोबर यता टिकटकलाई पाकिस्तानी सरकारले पटकपटक बन्द गर्दै आएको छ। यस एपले अनैतिक सामग्रीलाई बढावा दिने गरेको भन्दै बन्द गरिएको छ।

ताइवान

सन् २०२२ डिसेम्बरमा ताइवानले सार्वजनिक क्षेत्रहरूमा टिकटक बन्द गरेको छ। एफबिआइले यसले सुरक्षामा चुनौती हुने बताएपछि ताइवानले सरकारी फोनहरूमा यसलाई प्रतिबन्ध लगाएको हो। फोनमात्रै नभई ट्याब्लेट, डेस्कटप, ल्यापटप लगायतमा चिनियाँ एपहरू चलाउन प्रतिबन्ध लगाएको हो।

बेलायत

बेलायतले पनि गत मार्चमा मन्त्रीहरू र सरकारी कर्मचारीहरूले चलाउने फोनमा टिकटक चलाउन प्रतिबन्ध लगाएको छ। सुरक्षाको खतरा मूल्यांकन गर्दै सरकारी फोनहरूमा बन्द गरिएको बताएको थियो। तर निजी फोनहरूमा भने यो नियम लागु नहुने बताएको छ।

संयुक्त राज्य अमेरिका

अमेरिकाले पनि टिकटक आंशिक रूपमा बन्द गरेको छ। सुरक्षाको खतरा रहेको भन्दै गत मार्चमा सरकारी फोनहरूबाट टिकटक हटाउन ३० दिनको समय दिएको थियो। टिकटक प्रतिबन्ध गर्ने निर्णय सरकारी कर्मचारीहरूको फोनहरूमा मात्रै गरेको हो।

सोमालिया

गत अगष्टमा सोमालियाले पनि आतंकवादसँग सम्बन्धित कन्टेन्टहरू रहेको भन्दै बन्द गरेको थियो। सरकारले आतंकवादी समूहरूले टिकटक र टेलिग्राम जस्ता एपहरू चलाइरहेको भन्दै बन्द गरेको थियो।

(एपीको सहयोगमा)

प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्