न्यूयोर्क टाइम्समा पोखरा विमानस्थलकाे अनियमितता बारे समाचार प्रकाशित भएपछि अख्तियार थाल्याे अनुसन्धान


 


काठमाडौं। गत महिना अक्टोबर १६ मा अमेरिकाको विश्व प्रसिद्ध सामचारपत्र न्यूयोर्क टाइम्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे एक लामो रिपोर्ट प्रकाशित गरेको थियो । रिपोर्टमा नेपालमा त्यति चर्चामा नभएका केही तथ्य उल्लेख थिए ।

आइतबार एक अर्को समाचार प्रकाशित गर्दै टाइम्सले दाबी गरेको छ कि गत महिनाको उसको रिपोर्टपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलको निर्माण अवधिमा भएका अनियमतिता र भ्रष्टाचारबारे छानबिन सुरू गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ सरकारको स्वामित्वमा भएको सिनोम्याचको भगिनी कम्पनी सिएएमसी इञ्जिनियरिङले निर्माण गरेको थियो ।

न्यूयोर्क टाइम्सले अक्टोबर १६ को रिपोर्टमा सिएएमसीका एक सहायक प्रबन्धक, नेपाल नागरिक उड्यन प्राधिकारणका कर्मचारी र पोखरा विमानस्थल निर्माणकालमा केही समय निजी परामर्शदाता रहेका नेपाली इञ्जिनियर मुरारी गौतमलाई उद्धृत गर्दै निर्माणका क्रममा मिलोमतो गरेर कमजोर गुणस्तरको विमानस्थल बनाइ सिएएमसीको मुनाफा बढाइएको दाबी गरेको थियो ।

पोखरा विमानस्थल निर्माणमा नेपाल महँगो चिनियाँ ऋणभारको शिकार भएको छ भने अन्तर्राष्ट्रिय विश्वासनीयता अभावको कारण उडान हुन सकिरहेको छैन । जनवरीमा उद्घाटन भएको विमानस्थलमा एक वर्ष बित्न लाग्दा एउटा पनि अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको छैन ।

पोखराका भएको डुंगा प्रतियोगिताका खेलाडी लिएर एकपटक चीनकै चाटर्ड विमान आएको थियो । अहिलेसम्म भएको अन्तर्राष्ट्रिय उडान त्यति नै हो ।

नेपालको सार्वजनिक ऋण २३ खर्बभन्दा बढी अर्थात् जिपिडीको ४५ प्रतिशतभन्दा बढी पुगेको छ । देश ऋण लिएर ऋण तिर्नुपर्ने अवस्थामा पुगेको छ । तर, पोखरा विमानस्थल प्रयोगमा नआउँदा ठूला र महँगा पूर्वाधारबारे नै आशंका उत्पन्न हुने स्थिति छ ।

न्यूयोर्क टाइम्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले पोखरा विमानस्थलसम्बन्धी कागजात आयोगले नियन्त्रणमा लिएको तर, छानविन प्रारम्भिक चरणमा रहेको हुँदा अहिले नै केही बताउन नसकिने स्वीकार गरेको लेखेको छ । विमानस्थलको गुणस्तर सुनिश्चित नभएको र निर्माण अवधिमै त्यस्तो अनियमितता भएको भन्दै आयोगमा २० भन्दा बढी उजुरी परेको बताइन्छ ।

नागरिक उड्डयन प्राधिकारणका उपमहानिर्देशक जगन्नाथ निरौलाले पनि टाइम्ससँग विमानस्थलबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको स्वीकार गरेका छन् ।

चिनियाँ विदेश मन्त्रालयले भने ‘त्यस्तो छानबिनम आफ्नो कुनै सरोकार नरहने, त्यो नेपालको कानूनअनुसार हुने’ बताएको उल्लेख छ । विमानस्थल निर्माण गुणस्तर मापदण्ड कडाइका साथ लागू गरिएको चीनको दाबी छ ।

चीनले पोखरा विमानस्थललाई ‘बीआरआई परियोजना’ दाबी गर्दै आएको छ । तर, नेपालले भने चीनको यस्तो दाबीलाई स्वीकार गरेको छैन । सन् २०१७ मा नेपालले बीआरआईमा हस्ताक्षर गरेको थियो भने त्यसको ५ वर्षअघि सन् २०१२ मा पोखरा विमानस्थलको ऋण सम्झौता प्रक्रिया सुरू भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको क्रममा पोखरा विमानस्थलको ऋण मिनाहासम्बन्धी प्रस्ताव गरिए पनि चीनले अस्वीकार गरेको थियो ।

प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्