१७ दिनपछि सुरुङमा फसेका ४१ जना कामदारको जिवितै उद्धार


 


काठमाडौं । विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशी एक निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरलाई बाहिर निकालिएको छ ।

मंगलबार राति उनीहरूलाई सकुशलरूपमा उद्धार गरिएको हो । सुरुङको प्रवेशद्वारमा एउटा अस्थायी क्लिनिक बनाइएको छ र उद्धारलगत्तै उनीहरूलाई नजिकैको अस्पताल लैजानका लागि एम्बुलेन्सहरूलाई तयार अवस्थामा राखिएको छ।

उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक–एक गर्दै निकालेका छन् ।
नजिकै गएको एउटा पहिरोका कारण ढुङ्गा र माटो थुप्रिएपछि ती मजदुरहरू सुरुङभित्र थुनिएका थिए । उनीहरू सबै जना सकुशल भएको ठानिएको छ।

नोभेम्बर १३ मा स्थानीय समयानुसार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो। यस्तै उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका ती व्यक्तिहरूलाई भेटेका छन् ।

प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्