सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आईएमई बैंक
काठमाडौं, मंसिर ७
ग्लोबल आईएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ ।
आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा बिहीबार आयोजना गरेको कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कदर स्वरुप सम्मान गरेका हुन् । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।
ग्लोबल आईएमई बैंक विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित छ । हाल बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।
सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आईएमई बैंकले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ ।
प्रकाशित मिति: ७ मंसिर २०८०, बिहिबार