वित्तीय कर्जासम्बन्धी समस्या देखाएर अराजकता फैलाउन खोजियो : प्रधानमन्त्री प्रचण्ड


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका समस्या समाधानका लागि अझै गहन छलफल गर्नुपर्ने बताएका छन् ।

अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग मंगलबार भएको छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका कयौं सूचकहरू सकारात्मक देखिएको र अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा भने नपुगिएको बताए।

प्रधानमन्त्री प्रचण्डले भने,‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था के छ, कसरी अघि बढ्ने भन्ने सन्दर्भमा सरकारले सोचिरहेको छ। गत सालबाट यहाँसम्म आउँदा अर्थतन्त्रका कयौं सूचक सकारात्मक देखिएका छन् तर अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा अझै पुगेको छैन ।त्यसकारण यसलाई हामीले गम्भीर विमर्शसहित समुचित निस्कर्षमा पुग्नुपर्ने आवश्यकता छ।’

उनले अर्थतन्त्रका समस्या समाधानका लागि सबै मिलेर जानुपर्ने बताए। प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र दबाबमा छ, सरकार, राजनीतिक दल र निजी क्षेत्र मिलेर सामना नगर्ने हो भने संकट गहिरिनसक्छ भन्ने सोचका साथ कदम चाल्दै आएको बताए ।

अहिले सहकारी, लघुवित्त र बैंकको ब्याजका साथै व्यवसायीले कर्जा नपाउने समस्या पनि रहेको उनले बताए । तर यसलाई देखाएर एकथरी मान्छेले राजनीतिक लाभ उठाउने कोसिस गरिरहेको उनले बताए ।

प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्