प्रधानमन्त्री प्रचण्डले भने – जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा छ


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको बताएका छन् ।

राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले भने,‘परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आएको फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण हामीले बहुपक्षीय चुनौतीहरूको सामना गर्नु परिरहेको छ।’

उनले जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लिने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुख्खा खडेरी तथा तराई मधेसमा बाढी पहिरोको रूपमा देखिन थालेको बताए ।

जलवायु परिवर्तनले अर्थतन्त्रमा विशेष योगदान गर्ने विषयगत क्षेत्रहरू, कृषि, जलस्रोत, पर्यटन लगायतका क्षेत्रहरुका साथै खाद्य सुरक्षा, स्वास्थ्य, जलआपूर्ति, जीविकोपार्जन र सुरक्षामा व्यापक असर पारेको प्रचण्डको भनाइ छ ।

नेपाल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्र भएकोले पक्षधर राष्ट्रहरूका वार्ता प्रक्रियाहरूमा भाग लिँदै आएको पनि प्रधानमन्त्रीको भनाइ छ ।

उनले विभिन्न मञ्चहरूमार्फत जलवायु परिवर्तनका चुनौती र अवसरहरूका बारेमा विश्व समुदायसँग निरन्तर संवाद गरिरहेको भन्दै यो संवादलाई अझै सघन र परिणाममुखी बनाउने चुनौती र महत्त्वपूर्ण अवसरका रूपमा कोप–२८ लाई लिएको बताए ।

प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्