सूर्य नेपाल सेन्ट्रल ओपन सुरु, एमेच्योर टासी छिरिङ शीर्षस्थानमा
काठमाडौं, मंसीर ४ । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन एमेच्योर गल्फर टासी छिरिङ ७-अन्डर ६५ को सानदार नतिजामा शीर्षस्थानमा रहेका छन । उनले राष्ट्रिय टिमका युवा एमेच्योर गल्फर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे।
गोकर्ण गल्फ क्लबमा आज सहभागी ३३ प्रोफेसनल गल्फरलाई दुई एमेच्योर खेलाडीले पछि पारे। टासी शीर्षस्थानमा रहदा सदभाव आचार्य ६- अन्डर ६६ सहित दोस्रो स्थानमा रहेका छन । धरानका प्रोफेसनल गल्फर नीरज तामाङ ३-अन्डर ६९ सहित तेस्रो स्थानमा रहेका छन। प्रोफेसनलतर्फ अगाडि रहेका नीरज लिडर एमेच्योर टासी भन्दा ४ स्ट्रोकले पछि रहेकाछन् ।
२-अन्डर ७० सहित जयराम श्रेष्ठ चौंथो स्थानमा रहँदा १-अन्डर ७१ को नतिजामा तोरण विक्रम शाही पाँचौ स्थानमा छन्। इभन-पार ७२ को स्कोरमा दिनेश प्रजापति र प्रदीप कुमार लामाले संयुक्तरुपमा छैटौं स्थान बाँडे। यसैगरी तीन गल्फर पशुपति शर्मा, भुवन नगरकोटी र बलभद्र राई संयुक्तरुपमा आठौं स्थानमा छन। उनीहरूले १-ओभर ७३ को कार्ड बनाए।
शीर्षस्थानमा रहने क्रममा टासीले उत्कृष्ट सुरुवात गर्दै फ्रन्ट नाइन ७-अन्डर २९ मा पुरा गरे। यो क्रममा उनले दोस्रो, छैटौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। पाँच पारको तेस्रो होलमा भने इगलको सफलता प्राप्त गरे। यसपछि १३औं, १५औ, र १७औं होलमा एक-एक सट बचाएपनि १२औं, १७औं र १८औं होलमा बोगी खेप्दै ब्याक नाइन इभन-पार ३६ मा सकाए।
सदभावले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३३ मा पुरा गरे। दोस्रो होलमा बोगी खेपे पनि तेस्रो, चौथो, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे। ११औ, १२औं, १४औं र १७औं होलमा एक-एक सट बचाए। १६औं होलमा बोगीको सामना गरे।
तेस्रो स्थानमा रहेका नीरजले फ्रन्ट नाइन १ अन्डर ३५ मा सकाउने क्रममा पहिलो र तेस्रो होलमा बर्डी हाने भने आठौं होलमा एक सट खेर फाले। उनले ब्याक नाइन २-अन्डर ३४ मा सकाए। यो क्रममा १०औं र १४औं होलमा बर्डी प्रहार गरे भने ११औं र १६औं होलमा बोगी खेप्दा १२औं होलमा इगलको सफलता प्राप्त गरे।
चौथो स्थानमा रहेका जयराम श्रेष्ठले फ्रन्ट नाइन ४-अन्डर ३२ मा पुरा गरे। उनले पाँचौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १७औं होलमा डबल बोगी खेप्दा २-ओभर ३८ मा सकाए।
७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको छ। दोस्रो दिनको समाप्तीमा उत्कृष्ट २१ प्रोफेसनल गल्फर र ५ एमेच्योर खेलाडीले कट बनाउनेछन। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्
प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार