बङ्गलादेश क्रिकेट कप्तान शकिब राजनीतिमा प्रवेश, चुनाव लड्ने तयारी


 


ढाका, मंसिर ३ । बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन राजनीतिमा प्रवेश गरेका छन् ।

आगामी जनवरी ७ मा हुने आम निर्वाचनका लागि उनले सत्तारूढ बङ्गलादेश अवामी लिगबाट उम्मेदवारी दिने तयारी गरेका हुन् ।

अवामी लिगका संयुक्त महासचिव बहाउद्दीन नसिमका अनुसार शकिबले चुनावमा तीन निर्वाचन क्षेत्रबाट लड्नका लागि शनिबार पार्टीबाट नामाङ्कन फाराम लिएका छन् । प्रमुख प्रतिपक्षीहरूले सो निर्वाचन बहिष्कार गर्ने तयारी गरिरहेका छन् ।

शकिबको उम्मेदवारीको पुष्टि प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा रहेको सत्तारूढ पार्टी संसदीय बोर्डले गर्नुपर्नेछ ।

नसिमका अनुसार शकिबले आफ्नो दक्षिण–पश्चिम गृहजिल्ला मगुरा वा राजधानी ढाकामा कुनै एक स्थानबाट निर्वाचन लड्ने चाहाना राखेका छनश् ।

पछिल्लो १५ वर्षदेखि १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको नेतृत्व गरिरहेकी हसिनामाथि मुलुकमा कठोर शासन गरेको आरोप लगाइएको छ ।

यदि विपक्षी दलहरूले निर्वाचनलाई बहिष्कार गरेभने उनी चौथो पटक सत्तामा फर्कने करिब निश्चित छ ।

हसिनाले मुलुकमा प्रभावशाली आर्थिक वृद्धि हासिल गरेकी छिन् तर पश्चिमी मुलुकहरूले प्रजातान्त्रिक मूल्य मान्यता खस्केको भन्दै उनलाई चेतावनी दिएका छन् । साथै पछिल्ला दुई निर्वाचनमा उनीमाथि विपक्षीहरूले निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन् ।

श्रीलङ्काविरुद्धको प्रतियोगिताका क्रममा उनले एन्जेलो म्याथ्युजविरुद्ध एउटा असामान्य अपिल गरेपछि चर्चा बटुलेका थिए ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्