टि–२०आई महिला सिरिज– नेपालले जापानलाई ६७ रनले हरायो
काठमाडौं, मंसिर २ । चार देश सम्मिलित टि–२०आई महिला सिरिज अन्तर्गत राउण्ड रोबिनको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ ।
नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ४६ रनमा समेटियो । नेपालका लागि स्पिनर संगीता राईले ५ विकेट लिइन् । जापानका लागि मेग ओगाबाले २९ बलमा २ चौकासहित १७ रन बनाइन् ।
यस्तै सेइका सुमिले १६ बलमा १ चौका सहित १३ रन बनाइन् । अन्य कुनै व्याटरले भने दोहोरो अङ्क छुन सकेनन् । नेपालका लागि अश्मिना कर्माचार्यले ४ ओभरमा १० रन दिँदै सर्वाधिक ४ विकट लिइन् । यस्तै संगीता राइले ३ ओभरमा मात्र ५ रन दिँदै ३ विकट लिइन् ।
यस्तै पूजा महतोको नाममा २ विकट रह्यो। उनले ३ ओभरमा १ मेडन ओभर सहित २ रन मात्र दिएको थिइन् । डेब्यु खेल खेलिरहेकी सोनी पाख्रिनले ४ ओभरमा ८ रन मात्र दिइन् तर कुनै विकट लिन सकिनन् । यस्तै सुमन विष्ट र रुबिना क्षत्री पनि विकट विहिन रहे ।
पहिले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकट गुमाउँदै ११३ रन बनायो । नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३८ रन बनाइन् । चार नम्बरमा ब्याटिङ गर्न आएकी रुबिना अन्तिम ओभरमा आउट भएकी थिइन् । नेपाली ओपनरहरुले भने सुस्त सुरुवात दिएका थिए ।
पूजा महतोले २९ बलमा १ चौकासहित १३ रन बनाइन् । यस्तै अर्को ओपनर सीता राना मगरले २० बलमा १ चौकासहित ९ रन बनाइन् । कप्तान इन्दु वर्माले ३१ बलमा २ चौका सहित २७ रनको पारी खेलिन् । यस्तै काजल श्रेष्ठ ७ बलमा ३ चौकासहित १५ रन बनाउँदै अविजित रहिन्। अश्मिना कर्माचार्य १ रनमा नट आउट रहिन् ।
जापानका लागि एलेना कुसुडा–नाइर्नले ४ ओभरमा २४ रन खर्चिदै सर्वाधिक २ विकट लिइन् । यस्तै मेग ओगावाले ३ ओभरमा १ विकट लिँदै २१ रन दिइन् । आयुमी फुजिकावाले ४ ओभरमा १९ रन लिँदै १ विकट नै लिइन् । नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल खेलमा दौड बाट बाहिरिसकेको थियो ।
नेपाल ३ खेलमा १ जित सहित तेस्रो स्थानमा रहन सफल भएको छ । नेपाल पहिलो खेलमा तान्जानिया विरुद्ध २७ रनले पराजित हुँदा दोस्रो खेलमा भने घरेलु टोली हङकङ विरुद्ध ९ विकेटले हार बेहोरेको थियो । नेपालले भोलि तेस्रो स्थानको लागि हुने प्लेअफमा जापान विरुद्ध नै खेल्नेछ । जापान अंक बिहिन हुँदै पुछारमा रहेको छ ।
प्रकाशित मिति: २ मंसिर २०८०, शनिबार